
देशमा आमुल परिवर्तन भइसकेको छ । आजको परिवर्तनका लागि धेरै नेपालीले रगतको खोेली बगाए । जनताले राम्ररी अनुभूत गर्न नपाए तापनि कागजमा आएको लोकतन्त्र आएको छ । त्यसलाई व्यवहारमा आउन दिन स्वस्थ र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो ।
हिजो संसद् नभएका वेला पत्रकारले जनप्रतिनिधिको भूमिका निर्वाह गरेका हुन् । यसैले वास्तविक पत्रकार बन्नु भनेको जनताको प्रतिनिधि बन्नु हो । जसका लागि स्वतन्त्र पत्रकारिता अनिवार्य र आधारभूत आवश्यकता हो ।
नेपाली पत्रकारिताको अर्थतन्त्र राप र चापको बीचमा अड्केको छ । नेपाली शेयर बजारमा अर्थमन्त्रीले बोलेका वाक्यकै आधारमा नेप्से सूचकाङ्क घट्यो भनेर हामीले आर्थिक समाचार पढेकै छौँ । जसरी आर्थिक पत्रकारिताले नेप्से घट्बढको मापन गरेका छन् । राजनैतिक आस्थाका आधारमा लेखिएका समाचारले नेपालको राजनीति र विकासनीतिमा कति प्रभाव पारेको छ ? त्यसको मापन हुन नसकेका बेला नेपाली पत्रकारितालाई समालोचनात्मक र विश्लेषणात्मक ढङ्गले मार्ग निर्देशन गर्न आवश्यक छ ।
हामी जुन पार्टीको चश्मा चलाउँँछौँ त्यही आँखाले पत्रकारितालाई हेर्दै लालायित हुन्छौँ । जसका कारण विषयवस्तुको प्रकृति र गुणस्तरलाई ध्यान दिएर उक्त सामग्रीलाई तिखार्न सकिरहेको अवस्था छैनन् । जसमा यथार्थ र आदर्श भन्दा स्वार्थकोे जलप लगाउनमा तल्लिन छौँ । त्यो लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको पत्रकारितालाई स्खलनको बाटोमा धकेल्ने कडी हो ।
देशमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले २०६२/०६३ अगाडि नै विश्वास गुमाइसकेका थिए । ०६२/०६३ को जनआन्दोलनपछि चौथो अंग मानिएको पत्रकारिता क्षेत्र पनि राजनीतिक भागवण्डाको छेलोखेलोमा प¥यो ।
स्वतन्त्र पत्रकारिता गर्नेहरुले राम्ररी बोध गरेको कुरा हो, दशकदेखि नेपाली पत्रकारिता पत्रकारिता नभएर पर्चाकारिता र पार्टीकारितामा रमाउन थालेको थियो । राजनीति गर्न पत्रकार महासंघमा आउनु हुँदैन भनेर आवाज उठाउनेहरु कुटिने पत्रकारिता जगत् नै यसरी राजनीतिक पत्रकारिताको जग बन्न पुग्नु विडम्बनाको कुरा थियो । हुँदाहुँदै आज देशभरका पत्रकारको साझा संस्था मानिएको नेपाल पत्रकार महासंघ भित्र पनि सरकार छिरेको अनुभूत वर्तमान निर्वाचनले गराइरहेको छ । जुन नेपाली सञ्चार जगत्को इतिहासमा कालो दिनका रुपमा अंकित हुन मात्र बाँकी छ ।
नेपालमा फैलदै गएको व्यक्ति, गुट र समूह पत्रकारिताले राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षा गर्न सक्दैन । किनकि, राज्यका तीन अङ्गको निगरानी गर्ने चौथो अङ्ग नै प्रेस जगत् हो । जुन स्वयम् निस्सासिएपछि जनपक्षीय, जनउत्तरदायी, स्वतन्त्र र निष्पक्ष पत्रकारिता कसरी हुन सक्छ ?
हरेक पत्रकारमा राजनीतिक, आर्थिक, सामाजिक पृष्ठभूमिको प्रभावले सोहीनुसारको दृष्टिकोण हुनु स्वाभाविक हो । तथापि पत्रकारको मूख्य जिम्मेवारी आम जनमानसको जनजीवनमा महङ्खव राख्ने विषयवस्तुबारे सत्यतथ्यको खोजी र जानकारी जनसमक्ष प्रस्तुत गर्नु हो । पत्रकारले आफ्नो क्षमता र विवेकानुसार गरेको कामले विश्वका कैँयौँ द्वन्द्वरत मुलुकमा आमूल परिवर्तन ल्याएको छ ।
पत्रकारमा निहित विषयगत गहनता, विश्लेषणात्मक क्षमता, भाषागत दक्षता, जनसम्पर्कको पहुँच र कलात्मक शैली जस्ता गुणले सूचनाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छन् । पत्रकारको क्षमता वृद्धि, समाजको क्षमता वृद्धिसँग सम्बन्धित हुन्छ । विश्वविद्यालय र कार्यस्थलमा राम्रो रणनीतिक वातावरण छ भने पत्रकारिता प्रभावकारी हुन्छ । यदि उसको मिडिया हाउस र अध्ययन गर्ने विश्वविद्यालयमा त्यो वातावरण छैन भने उसले पत्रकारिताका नाममा मनमा लतपतिएका अस्पष्ट धारणा मात्र व्यक्त गर्ने गर्दछ । समाजबाट टिपिएको कच्चा सामग्री कच्चा प्रशोधनबाट बजारमा गएपछि गुणस्तर कमजोर हुनु स्वभाविक हो । उक्त पत्रकारिताले आम व्यक्तिको विश्वास जित्न सक्दैन । पत्रकारिता र समाजबीच अक्षुण्ण सम्बन्ध भएकाले एउटाको अस्तित्व विना अर्काको अस्तित्व कल्पना गर्न सकिन्न ।
कटुवाल प्रथाबाट अगाडि बढेको पत्रकारितामा पेशागत चुनौती आफैँमा छन् । एकातर्फ पत्रकारिता गर्न सक्ने सम्भाव्यता बोकेकाहरू असली पत्रकारहरु विस्तापित छन्, अर्कोतर्फ पत्रकारितालाई कालो धन सेतो बनाउने माध्यम बनाएर एक रिम कागज पत्रिका छापेर झोलामा दुई चारप्रति बोकेर आफूलाई सञ्चार उद्यमी ठानिरहेका छन् । आफ्नो स्वार्थका लागि केहीले मानमनितो गरिरहेका छन्् । नेपाली पत्रकारिता स्वयम् स्खलनको बाटोतर्फ धकेलिँदै गर्दा राज्य संयन्त्रले पत्रकारहरुको साझा संस्था पत्रकार महासंघलाई भातृसंगठनको सम्पर्क कार्यालय जस्तो बनाउन खोज्नु लोकतन्त्रको सौन्दर्यशास्त्रमा नसुहाउने कुरा हो ।
हिजो विश्वविद्यालयमा पढाइएका पाठ्यक्रमका विषयवस्तु र वर्तमानको व्यवहार देख्दा आफूलाई पढाइएको पाठ्यक्रम नै गलत रहेछ कि भन्नुपर्ने अवस्था सिर्जना भएको छ । पत्रकार महासंघको चुनावमा पत्रकार चुनाव चलिरहेको देखिँदैन । यो चुनावमा त दलका नेता र कार्यकर्ता क्रियाशील देखिन्छन् । रातारात गुट परिवर्तन गरेर झुटका पछाडि दौडनेहरु देखिन्छन् । आफूलाई पत्रकारको नेता हुँ भनेर मतदानका लागि अपिल गर्नेहरुका मुहारमा पत्रकारिताको मर्मै देखिदैन, कर्मै देखिँदैन, पत्रकारिताको धर्म देखिँदैन । देखिन्छ परिवारवाद, फरियावाद र भरियावाद ।
अनेक पार्टीका झण्डा बोकेका छौँ भन्नेहरुको मुहारमा पंक्तिकारले दुई थरी पार्टी मात्र देखिरहेको छ । आज महासंघको नेतृत्वमा पनि तिनै लाल किताब पढेको हुँ भनेर लालपूर्जा बटुल्न लालायित हुने क्रान्तिकारी काँग्रेस र प्रजातान्त्रिक भनेर फरियामा लुटपुटिने काँग्रेसहरुको अनुहार मात्र देखिएको छ । आस्था, चेतना, सिद्धान्त र दर्शन भुइँ मान्छे लडाउने आधार बन्नु दुःखद् सन्दर्भ हो ।
नेपाली पत्रकारिताको विकासमा मुख्य भूमिका खेल्ने पात्र पत्रकार नै हो । यसर्थ आफ्नो पेसाप्रति मर्यादित पत्रकारलाई मतदान गर्नुहोस् । पत्रकारको क्षमता मापनको कडी उसको कार्यबाट निस्कने परिणाम हो । हिजो जे भयो भइसक्यो, भोलि के होला ? त्यसका लागि आजको दिनलाई राम्रो बनाउन आवश्यक छ । आज पनि हिजो र्झँै गुजारियो भने परिणाम सकारात्मक ननिस्कन सक्छ ।
अब जो, जति असली पत्रकारिता पेसामा आवद्ध छन् उनीहरू सचेत हुनपर्ने समय आएको छ । पत्रकारिता क्षेत्रमा आफूलाई पत्रकारकै रुपमा चिनाउन चाहनेहरुले आफूले बोकेको आस्था र विचारलाई जुत्ता फुकाले झैँ दैलोमा राखेर आफ्नो मतको प्रयोग गर्ने समय हो । सार्वजनिक हितको पक्षमा सत्य उद्घाटन गर्ने पत्रकारिताले नै हो । नेपाली पत्रकारितालाई पेसा बनाउने कि पर्चा बनाउने प्रश्नको जवाफ आफ्नै आत्मसँग सोधेर दलका झोले र मालिकको हलीलाई छोडौँ । मैदानमा देखिएका अनुहारमध्ये पार्टीको चित्र देखिने भन्दा हृदयमा पत्रकारिताको मर्म लेखिने प्रतिनिधि छान्न स्वविवेकको प्रयोग गरौँ ।
आस्थाका हिसाबले जुनसुकै दल भए तापनि व्यावसायिक पत्रकारिताको मर्म र धर्म बुझेका मान्छेलाई भोट दिनु सचेत मतदाताको कर्म हो । जसका कारण भोलि श्रमजीवीका पक्षमा विज्ञप्तिको खोस्टो फाल्ने मात्र नभएर बलियो आवाज उठाउन सक्ने नेतृत्व निर्माण गर्न सकियोस् ।
(लेखक स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष हुन् । सं.)