
दीननाथ बराल,
पोखरा २६, मंसिर,
खेलकुदको शहर पोखरामा शुक्रबार देखि हुने पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखरा १४ मझेरीपाटनमा रहेको हिमालयन गल्फ कोर्षमा मंसिर ३० गते(शनिबार) सम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, धरान र महोत्तरी सहित विभिन्न क्षेत्रका ६० जना एमेच्योर खेलाडी सहभागि हुने भएको संघ कास्कीका अध्यक्ष जिवाराम गुरुङले बताउनु भयो । प्रतियोगितामा पोखरा २ सहित करिब ६ जना महिला खेलाडीहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो ।
पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एमेच्योर गल्फरको सहभागि हुने संघले जनाएको छ । पहिलो दिन मंसिर २८ गते टिम इभेण्टको प्रतिस्पर्धा हुने भएको छ । टिम इभेण्टमा दुई जना गल्फर रहने प्रावधान छ । पहिलो दिन बेटर बल(उत्कृष्ट स्कोर)को आधारमा विजेता घोषणा गरिने छ । विजेताले ५० हजार, उपविजेताले भने ३० हजार र तेस्रो स्थानमा रहने टिमलाई २० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको द्धितीय उपाध्यक्ष वालकासी गुरुङले जनाउनु भयो ।
प्रतियोगितामा टिम इभेण्ट पुरुष, पुरुष खुल्ला, महिला खुल्ला र यु—१६ गरी चार इभेण्टमा प्रतिस्पर्धा हुने भएको हो । दोस्रो दिन महिला तथा पुरुष तथा यु—१६ को इभेण्ट हुने छ । १८ होलको प्रतिस्पर्धा स्टेबलफोर्ड ३÷४ ह्याण्डी क्यापमा खेलाईने छ ।
उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने पुरुष तथा महिला एवं उमेर समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने गल्फरलाई नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने संघले जनाएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार खर्च हुने उहाँले जनाउनु भयो ।
प्रतियोगिताबाट बचत भएको रकम संघले स्थापना गर्न खोजेको पोखरा रंगशालाको गल्फ एकेडेमी निर्माणमा खर्च गर्ने भएको छ । पोखरा र यस क्षेत्रमा गल्फ खेल पर्यटनको अथाह संभावना भएको संघ गण्डकी प्रदेशका अध्यक्ष इन्द्रधारा विष्टले बताउनु भयो । पोखरामा हरेक बर्ष सुर्य नेपाल गल्फ प्रतियोगिता हुदै आएको छ । पोखरामा दुरीका हिसावले हमिालयन गल्फ कोर्षमा मात्र गल्फ कोर्ष भएकोले अब रंगशालामा एकेडेमीको रुपमा विकास गर्न खोजिएको संघले जनाएको छ ।





