
पोखरा, २२ मङ्सिर,
पोखरा महानगरपालिका वडा नं।१३ गौडामुख स्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। पोखराको पर्यटकीय स्थल कार्की डाँडामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्व ऊर्जा तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङ ‘श्याम’ले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उनले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै समस्या नरहेको उल्लेख गरे ।
कार्यक्रममा पूर्व जनप्रतिनिधिहरू पस बहादुर बास्तोला, कृष्ण कुमारी गुरुङ, सहकारीकर्मी दीपकराम सुवेदी, गौडामुख टोल विकास संस्थाका अध्यक्ष मनकाजी गुरुङ, संस्थाका निवर्तमान उपाध्यक्ष डिकबहादुर राई ‘डिबि’, बाबुराम सापकोटा, सुरेन्द्र परियार लगायतले सहकारीले स–साना पुँजीको सङ्कलन गरी शेयर सदस्यहरूको माग अनुसार उचित स्थानमा लगानी गर्नुपर्नेमा जोड दिए । साथै मुलुकको अर्थतन्त्र चलायमान गराउँदै आफ्ना शेयर सदस्यहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने बाटोमा सहकारीहरू अग्रसर हुनु पर्ने उनीहरूले बताए ।
साधारणसभाले संस्थाका सचिव विष्णुमाया गुरुङद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष मधुसूदन देवकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक शिव प्रसाद शर्माद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । २०७७ सालमा स्थापना भएको सहकारीमा हाल ६९० जना शेयर सदस्य रहेका छन् ।
२०८१ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्कका साथ उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरी मध्येबाट सौगात अधिकारी र मनीषा गुरुङ, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य पूर्ण बहादुर गुरुङ, उत्कृष्ट बचतमा प्रकाश रमण अधिकारी र उत्कृष्ट कर्मचारी मनीषा पौडेललाई पनि सम्मान गरिएको छ । संस्थाका अध्यक्ष पूर्ण लामाको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उपाध्यक्ष प्रेमबहादुर भुजेल र सञ्चालन सचिव विष्णुमाया गुरुङले गरेकी थिइन् ।






