१४ औं नेसनल खेलकुद महोत्सवमा ४६ बिद्यालयका ८ हजार ५ सय खेलाडी मैदानमा, मंसिर २५ देखि नेसनल खेलकुद महोत्सव सुरु हुने

-


     पोखरा क्लिक     
     मंसिर १५ गते २०८१ मा प्रकाशित


पोखरा १५, मंसिर,

१४ औं संस्करणको नेसनल खेलकुद महोत्सव २०८१ मा ४६ बिद्यालयका ८ हजार ५ सय बिद्यार्थीहरु खेलाडीको रुपमा मैदानमा उत्र्रिने भएका छन्। यही मंसिर २५ गते देखि सुरु हुने ‘१४ औं नेसनल खेलकुद महोत्सव’ २०८१ को तयारी तिब्र पारिएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एसोसियसन नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले जनाएको छ ।

यहि मंसिर २८ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेलमा धेरै खेलाडीहरुको सहभागिता हुने भएकोले गर्दा यही मंसिर २१ गतेबाट अनौपचारिक रुपमा केही खेलहरु ह्ुने भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । “एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुद सहितको शिक्षा” भन्ने मुल उद्धेश्यका साथ हुने खेलकुद महोत्सवमा छात्र तर्फ ४ हजार ६ सय र छात्रा तर्फ भने ३ हजार ९ सय खेलाडीहरु मैदानमा उत्र्रिने भएको अध्यक्ष अधिकारीले उल्लेख गरे ।

एन प्याब्सन कास्कीले आफ्नो ‘१४ औं नेसनल खेलकुद महोत्सव’ अन्तर्गत पहिलो पटक सिनियर कक्षा १–१० सम्म छात्र–छात्रा ५ किलोमिटर सडक दौड संगै क्रिकेट, फुटसललाई समावेश गरेको छ भने प्रतियोगिता अन्तर्गत छात्र–छात्रा जुनियर कक्षा १–७ सम्म एथलेटिक्स ट्रयाक एण्ड फिल्डका प्रतिस्पर्धा, ह्याण्डबल, ब्याडमिन्टन र टेबुल टेनिसका खेलहरु हुनेछन् भने सिनियर कक्षा १–१० सम्म छात्र–छात्रा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड, भलिबल, फुटबल, ब्याडमिन्टन, टेबुल टेनिस, बास्केटबलका प्रतिस्पर्धाहरु हुनेछन् ।

त्यसै गरी कक्षा ११–१२ अन्तर्गत छात्र फुटसल र बास्केटबल छात्रातर्फ बास्केटबल हुने भएको छ । यसै बिच एन प्याब्सन कास्कीले आफ्नो १४ औं खेलकुद महोत्सवमा च्याम्पियन टिमलाई प्रदान गरिने ट्रफीको अनावरण गरेको छ । उक्त ट्रफीको शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले अनावरण गरे । आधा किलो चाँदीको प्रयोग गरी हस्तकलाबाट निर्मित ट्रफीका लागि १ लाख २५ हजार खर्च भएको अध्यक्ष अधिकारीले उल्लेख गरे ।

प्रतियोगिता अन्र्तगत १ हजार १ सय ५० जुनियर तर्फ छात्र र १ हजार १ सय ५० छात्रा सहागि हुने भएका छन् । सिनियरतर्फ ३ हजार २ सय छात्र र छात्रा तर्फ भने २ हजार ६ सय जना छात्रा सहभागि हुने भएका हुन् । कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गर्ने छन्। सहभागीमध्ये ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण, २ सय ५१ रजत र ४ सय २७ कास्य पदकका लागि विभिन्न मार्च पास सहित १० खेलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । औपचारिक उद्घाटन मंसिर २५ गते पोखरा रंगशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने भएको बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न हेमन्त अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । प्रचार संयोजका प्रेमराज अधिकारी, मार्चपासमा कमलबहादुर मल्ल, समूह खेलमा फुटबलतर्फ अर्जुनप्रसाद पाण्डे, बास्केटबलमा वेदबहादुर श्रेष्ठ, टेबलटेनिसमा शिवराज पौडेल, भलिबल प्रकाशराज वाग्ले, ब्याडमिन्टन ज्ञानेन्द्रबहादुर थापा, क्रिकेट रमेशराज पौडेल, ह्याण्डबलमा अर्जुनप्रसाद अधिकारी, फुटसलमा विष्णुप्रसाद पौडेल, एथलेटिक्समा केशवशरण पौडेल संयोजकमा रहेका छन्।

यस्तै, स्वास्थ्य उपचार व्यवस्थापनमा हरिराज अधिकारी, मञ्च सजावट साउण्ड सिस्टममा दीपु भारी, न्यायिक छानबिन तथा निर्णायाक उपसमिति संयोजकमा हेमन्त अधिकारी तोकिएका छन् । साथै, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा मनकाजी गुरुङ, शान्तिसुरक्षा व्यवस्थापनमा युवक लामिछाने, सचिवालयमा प्रेमराज अधिकारी, खाना, खाजा, पानी तथा अतिथि व्यवस्थापनमा राजु केसी र खेलकुद समन्वय तथा व्यवस्थापन उपसमितिमा राजु कायस्थ संयोजक रहेका छन् । हरेक दुई बर्षमा हुने उक्त खेलकुद महोत्सवले खेलाडी उत्पादन गर्न मद्धत पुग्ने उपाध्यक्ष मनकाजी गुरुङले जनाए । आगामी बर्षमा शैक्षिक मेला आयोजना गरिने भएको सचिव प्रेमराज अधिकारीले बताए ।