
दीननाथ बराल
पोखरा ११, मंसिर
पोखरामा बुधबारदेखि सुरु हुने दोश्रो संस्करणको पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा १३ देशका ५९ साइक्लिस्टले सहभागि जनाउने भएका छन् । मंसिर १२ देखि १५ गतेसम्म पोखरा महानगरपालिका– १३ को आर्बा–विजयडाँडामा संचालन हुने उक्त प्रतियोगितामा नेपाल सहित १३ देशका ५९ जना साइक्लिस्टहरुको सहभागिता हुने भएको प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले बताउनु भयो ।

प्रतियोगितामा नेपाल सहित भारत, सिंगापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया, श्रीलंका, फिलिपिन्स तथा न्युजिल्यान्ड, चाइना लगायतका देशका साइक्लिस्टको सहभागिता हुने भएको उहाँले जनाउनु भयो । ई–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माले जनाउनु भयो । एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एक मात्रै उपयुक्त स्थल भएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताउनु भयो । ‘ट्रेलमा साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्ट्याइने भएको छ । सिनियर, जुनियर र महिला तर्फको इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको छ ।
उक्त खेलको माध्यमबाट आर्वाविजय गाँउको खेलकुद र पर्यटनको प्रबद्र्धन गर्न उक्त प्रतियोगिताले मद्धत पुग्ने पोखरा १३ का वडा अध्यक्ष किरण बरालले पोखराक्लिलाई जनाउनु भयो । यसैबिच, मंगलबार पोखराको माउण्ट कैलास रिसोर्टमा साइक्लिस्टहरुलाई रुट सहितको प्रतियोगिताको बारेमा ब्रिफिङ गरिएको थियो भने बुधबार अभ्यास खेल हुने भएको छ । प्रतियोगितामा नेपाली महिला खेलाडी लक्ष्मी मगर सहित ४ जना महिला खेलाडीहरु सहभागि हुनु हुने भएको छ ।





