
दीननाथ बराल,
पोखरा ७, मंसिर,
पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आज भन्दा करिब ४ बर्ष अघि कास्कीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको उक्त रिसोर्ट यस यस बर्ष पुनः सम्मानित भएको हो ।

त्यसै गरी स्याङजाको खिलुङ कालिका कन्स्ट्रक्सन उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदाता मध्य कास्कीको उक्त रिसोर्ट र स्याङजाको खिलुङ कालिकालाई आज कार्यालयमा आयोजित एक समारोहका बिच सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस एवं सप्ताह कार्यक्रम समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक युवा व्यवसायी वसन्त गौतम र स्याङजाबाट सवैभन्दा वढी आयकर दाखिला गर्ने करदाता मध्यबाट खिलुङ कालिका कन्स्ट्रक्सनका सञ्चालक छविलाल अर्याललाई सम्मान गरिएकोे आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो ।
टेम्पल ट्री रिसोर्टले आर्थिक वर्ष २०७९÷८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रुपैयाँ ३२ पैसा आयकरको रुपमा दाखिला गरेको थियो । त्यसै गरी खिलुङ कालिकाले भने ७६ लाख ५१ हजार रुपैयाँ आयकर दाखिला गरेको कार्यालयले उल्लेख गरेको छ । उत्कृष्ट करदातालाई जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सम्मान गर्दैे पोखरा पर्यटकीय क्षेत्र भएकोले यसको विकासमा निजिक्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने आवश्यक सहयोग र समन्वय गर्न कटिवद्ध भएको उहाँको भनाई थियो ।
प्रमुख कर अधिकृत शर्माले आर्थिक ऐन, २०८१ ले, दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी आग्रह गर्दै सिमित समयको लागि दिएको छुटको फाइदा लिन सेवाग्राहीलाई अनुरोध गर्नुभयो । सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने उहाँको भनाई थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सुब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ । यस्तै, करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको छ ।
“कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ यही मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व.२०७९÷०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्य अभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ हजार ९६ जना रहनु भएको छ । मूल्य अभिबृद्धि करमा १२ हजार, अन्तःशुल्कमा द्ध हजार करदाता दर्ता हुनु भएको छ । १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिनु भएको छ । आन्तरिक राजस्व कार्यालय पोखरामा कूल २ लाख ५९ हजार ३० जना करदाता रहनु भएको छ ।





