
दीननाथ बराल
पोखरा ४, मंसिर,
नेपालका राजनीतिक दलहरु जनताबाट आलोचित हुदै आएको सन्दर्भमा कुनै भौतिक संरचनाको उद्घाटन गरे पनि त्यसबाट आम जनताले सेवा दिने गरी सेवा प्रवाहमा खासै ध्यान नदिदा थप आलोचित हुने गरेका हुन् । देशका धेरै ठाँउमा यो घटना देख्न पाइन्छ भने गण्डकी प्रदेशको कोरला नाकाको अध्यागमन कार्यालय उद्घाटनको २१ दिन बितिसक्दा अझै कार्यालय संचालनमा आउन सकेको छैन् ।
निकै तामझाम र ठुलो खर्चमा भव्य रुपमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गत कार्तिक १४ गते कोरला नाकाको अध्यागमन कार्यालयको उद्घाटन गरे पनि आजको मितिसम्म उक्त कार्यालयबाट एक जनाले पनि सेवा लिन पाएको छैन् । कार्यालय नै बन्द भए पछि सेवा कसरी लिने जनताले यसमा बढो चिन्त्तलाको बिषय भएको स्थानियले गुनासो गर्न थालेका छन् ।
गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा लिइएको उक्त नाकाबाट चाइना जानको लागि अब देखि सहज हुने भन्दै गृहमन्त्री लेखकले पोखराका पत्रकारसंग बताएको तीन साता वितिसक्दासम्म पनि अझै कार्यालय बन्द भएको रहेको छ । तिहार पर्व अघि उद्घाटन गरिएको त्यस लगत्तै छठ पर्व र पछिल्लो दिन देखि चिसो बढेकोले गर्दा हाल तत्काल उक्त कार्यालयमा कर्मचारी व्यबस्थापन गर्न नसकेका कारण कोरला नाकाको अध्यागमन कार्यालय बन्द भएको स्थानियले बताए ।
कोरलामा जाडो ह्वात्तै बढेको, वातानुकुलित संरचना पनि नभएको र हाल त्यहाँ बस्न मिल्ने अबस्था समेत नभएकोले सवारी साधनको समेत जोहो गर्न बाँकी रहेकोले उद्घाटन भएर पनि तत्काल उक्त सेवा संचालन गर्न नसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुषालले बताए । अबको केही दिनमा कर्मचारी व्यवस्थापन गरेर भए पनि उक्त कार्यालय संचालन गर्ने उनले जनाए । कोरला नाकाको अध्यागमन कार्यालय उद्घाटन भए पनि आजको मितिसम्म एक जना पनि सेवा ग्राही नआएको बताउदै प्रजिअ भुषालले सेवाग्राही आएको खण्डमा आफुहरुले त्यसको प्रबन्ध गर्ने योजनामा रहेको उल्लेख गरे । सकभर करारमा भए पनि स्थानिय कर्मचारी व्यबस्थापन गर्ने बिषयमा आफुहरु रहेको प्रजिअ भुषालले जनाए । ८ जनाको दरवन्दी रहे पनि हाल ४ जना कर्मचारी व्यबस्थापन गर्ने बिषयमा आफुहरुले गृहकार्य गरेको उनले जनाए । गृहमन्त्री लेखक र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा अंगका प्रमुख र सरकारी कर्मचारी, पत्रकार सहित हेलिकप्टर चढेर अध्यागमन कार्यालय उद्घाटन गर्न कोरला पुगेका थिए ।
लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाकामा बनाइएको एक तले अध्यागमन कार्यालय र नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको गृहमन्त्री लेखकले कार्तिक १४ गते उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन भएसंगै तिहार बिदा भएकाले खटिएका ४ जना कर्मचारी पनि घर गएको तर हालसम्म उनीहरु नफर्किएकोले अध्यागमन कार्यालय बन्द भएको प्रजिअ भुषालले जनाए । अध्यागमन कार्यालयबाट तत्काल भिसा लगाएर आउन तथा जान सकिने गृहमन्त्री लेखकले भनेको थिए ।
उनले कोरलामा जाडो बढेको र वातानुकुलित संरचना पनि नभएकाले अहिले कार्यालय बन्द गरिएको बताए । चीनलाई पनि त्यही जानकारी गराएको प्रजिअ भुसालले बताए । ‘चीनको चासोमा आफूहरुले कार्यालय बन्द भएको होइन, केही तयारी बाँकी नै छन् । अहिले चिसोले बस्न सक्ने वातानुकुलित संरचना छैन भन्ने जानकारी दिएका छौं,’ प्रजिअ भुसालले भने । प्रजिअ भुसालका अनुसार कोरला नाकामा बस्न सक्ने वातावरण र संरचना नभए पनि नेचुङमा रहेको भन्सार र बीओपी भने खुल्ला छन् । कोरला नाकामा अस्थायी रुपमा इमिग्रेसन कार्यालय स्थापना गर्न गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरी ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको हो । २ वर्षअघि निर्माण सुरु भएको थियो । चिनको सिमानामा भव्य भौतिक संरचना निर्माण भएर अध्यागमन कार्यालय रहेको छ भने नेपालमा सामान्य भवन सहितको कार्यालय रहेको छ ।






