यु १९ विश्वकप क्रिकेटमा छनौट भएका गण्डकी प्रदेशका ४ खेलाडीलाई पोखरामा स्वागत

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८१ मा प्रकाशित


पोखरा १, मंसिर,

यु १९ महिला विश्वकप र एसिया कपमा नोपली टिममा छनौटमा परेका गण्डकी प्रदेशका ४ जना खेलाडीहरुलाई पोखरामा स्वागत गरिएको छ । नेपाली युवा टोलीका चार सदस्यलाई गण्डकी प्रदेश क्रिकेट संघले स्वागत गरेको हो । ऐतिहासिक सफलता दिलाउन सफल महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो ।

प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्मा, क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल लगाएतले टिमलाई स्वागत गर्नु भएको हो । उहाँहरुलाई ¥याली सहित पोखरा रंगशालामा ल्याएर स्वागत गरिएको हो । नेपाली टिममा गण्डकी प्रदेशका सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सनिका मरासिनीले खेल्नु भएको छ ।

खेलाडीको मिहिनेत र संघको सहयोगले यो उपलब्दी हासिल भएको अध्यक्ष सिग्देलले जनाउनु भयो । खेलाडीलाई जनही नगद २० हजार दिने उहाँले जनाउनु भयो ।

नेपाली महिला टिमले सन २००७ देखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरू गरेको हो । त्यसयता नेपाली महिला टिम विश्व कपमा पुगेको यो पहिलो पटक हो । त्यसैले नेपाली महिला क्रिकेटकै यो अहिलेसम्मकै ठुलो सफलता हो । नेपाली महिला क्रिकेट टिमलाई पहिलो पटक विश्व कपमा पुर्याउन पाउँदा निकै गर्व लागेको खेलाडीहरुले प्रतिकृया दिनु भएको छ । प्रदेशमा आफुुहरुलाई गरिएको उक्त सम्मानले आफुहरुलाई प्रोत्साहनको साथै आगामी दिनमा थप राम्रो गर्न वल पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

घरेलु टोली युएईलाई हराउँदै ट्रफी जितेर विश्व कप र एसिया कपको लागि छनोट हुन पाउँदा निकै खुसि महशुश भएको खेलाडीहरुको भनाई छ । छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपाली टोली पहिलो पटक महिला यु १९ विश्व कपमा स्थान बनाएको हो । विश्व कप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुदैछ । नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ । पछिल्लो क्रममा नेपाली क्रिकेटले धेरै सफलता हासिल गर्दै आएकोले खेलाडीहरुको बिषयमा सरकारले साच्नु पर्ने समय आएको सदस्य सचिव शर्माले जनाउनु भयो ।