
दीननाथ बराल,
पोखरा १, मंसिर,
कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म आयोजना हुने मुक्तिनाथ केवलकार दर्शन परियोजनाको लागि भारतको एक्जिम बैंकले सहुलियत दरमा ऋण प्रवाह गर्न इच्छुक भएको छ । मुक्तिनाथ दर्शन लिमिटेडले शनिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा लिमिटेडका निर्देशक डि.बी.गुरुङले उक्त परियोजना संचालनको लागि भारतको एम्जिम बैंकले सहुलियत दरमा ३ अर्ब ऋण प्रवाह गर्न इच्छुक भएको बताउनु भएको हो ।
विश्वकै सबै भन्दा लामो केलवकार परियोजना मुक्तिनाथ दर्शन केवलकार ८१ किलोमिटरको उक्त परियोजना ५५ अर्बको लागतमा निर्माण हुने भएको उहाँले जनाउनु भयो । उक्त परियोजना निर्माण गर्ने जिम्मा भारतको केएनआर रेल इन्जिनियरिङले पाएको छ भने उक्त कम्पनीले ४ बर्षको अवधिमा ईपीसीएफ मोडलमा निर्माण गरि संस्थागत ५० प्रतिशत लगानी पनि गर्ने भएको छ ।
छिमेकी राष्ट्र भारतका श्रर्दालुहरुलाई समेत उक्त केवलकारको सेवा मार्फत भगवान मुक्तिनाथको दर्शनमा निकै सहज हुने आफुहरुले विश्वास लिएको निर्देशक गुरुङले जनाउनु भयो ।
कास्कीको बिरेठाँटी देखि मुस्ताङको मुक्तिनाथसम्मको गन्तव्य ३ घण्टा ४६ मिनेट लाग्ने निर्देशक गुरुङले जनाउनु भयो । उक्त परियोजनामा २० वटा स्टेशन हुने भएका छन भने ६ वटा स्टेशनमा झर्नै पर्ने, ३ वटा प्राविधिक स्टेशन हुने भएको उहाँले जनाउनु भयो । ८ सय भन्दा बढी गुण्डुलाले १ बर्षमा ३६ लाख भन्दा बढि हिन्दु, बुद्ध, शिंख र जैन धर्मालम्बी श्रर्दालुहरु सहित पर्यटकहरुलाई सेवा प्रदान गरिने अपेक्षा गरिएको निर्देशक गुरुङको दाबी छ ।
उक्त केवलकार बिश्वमा नै लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता गर्नलाई प्रक्रिया रहेको उहाँको भनाई थियो । वीरेठाँटीबाट सुरु हुने ६ वटा स्टेशन मध्य घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ रहनेछ ।
५५ अर्बको परियोजना अन्र्तगत ४४ अर्ब विभिन्न बैंकहरुसंग ऋण लिने, ११ अर्ब शेयरधनीबाट संकलन गर्ने लक्ष्य राखिएको छ । जसमध्य ५ अर्ब भने आईपियो बाट संकलन गर्ने परियोजना लक्ष्य रहेको छ । उक्त परियोजनामा प्रभावित देखि वडा, जिल्ला, प्रदेश र समग्र नेपालीहरुले उक्त परियोजनामा शेयर हाल्न सक्ने गरी सिधै मुक्तिनाथ दर्शन लिमिटेड र अर्को प्रस्तावित मुक्तिनाथ कागबेनी इन्भेष्टमेन्ट लिमिटेडबाट समेत शेयर हाल्न सकिने व्यबस्था गरिएको छ ।
उक्त परियोजनाको लागि ७० करोड रुपैया संकलन भएको कम्पनीका निर्देशक गुरुङले बताउनु भयो । ३ सय ६५ दिनमै उक्त केवलकार संचालन हुने गरी ज्येष्ठ नागरिक देखि अन्य पर्यटकहरुको लागि समेत जानआउन सकिने गरी प्रबन्ध मिलाउने उहाँले जनाउनु भयो । वातावरणीय अबस्था हेरीकन स्टेशन र गुण्डुलाको बनोटमा फरक फरक भएको निर्देशक गुरुङले जनाउनु भयो । उक्त परियोजना अबको ४ बर्षमा निर्माण कार्य पुरा गरी ८ बर्षमा लगानी कर्ताको लगानी उठाउन सक्ने गरी आफुहरु लाग्ने भएको निर्देशक गुरुङले उल्लेख गर्नु भयो । उक्त परियोजना पोखरा क्षेत्रको लागि मात्र नभई नेपालकै लागि ठुलो महत्व हुने राजन श्रेष्ठले बताउनु भयो ।





