
पोखरा, २९ कात्तिक,
नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनि कोर्टेभलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुईपक्षिय हितका विषयमा छलफल भएको छ । विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताउनुभयो ।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए । त्यसको ३ वर्ष पछि मात्रै सगरमाथा आरोहण गरिएको इतिहास छ । हर्जोगले अन्नपूर्ण–१ ९प्रथम० हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पुरा भएको छ ।
सन् २०२५ मा हिमाल आरोहणको ७५ औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताउनुभयो । हर्जोगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेका थिए ।
भेटवार्तामा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोग सहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बिचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको छ ।
भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको समेत सहभागिता रहेको थियो । पोखरा महानगरपालिका फान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाइ अभियानदेखी समग्र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।
जापानका सांसदहरु र नगर प्रमुख आचार्य बिच भेतवार्ता
जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगर प्रमुख आचार्यसँग भेटवार्ता गरेको हो ।
भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानका बिचमा निकै लामो समयदेखी श्रम तथा प्रविधिको आदानप्रदान हुँदै आइरहेको बताउनुभयो । पोखरामा जापान सरकारको तर्फबाट निकै महत्त्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेको जनाउँदै भविष्यमा समेत सञ्चालन गर्ने गरी कयौँ दूरगामी महत्वका परियोजनाहरूमा समझदारी भएको उल्लेख गर्नुभयो । जापानमा रोजगारी तथा अध्ययनका सिलसिलामा ठुलो सङ्ख्यामा पोखरेली नागरिकहरू गएको र त्यहाँ उनीहरूले राम्रो उपलब्धि हासिल गरिरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय पोखरा महानगरपालिकाले दक्ष जनशक्ति तयार गर्न आवश्यक भाषा तथा सीपमूलक तालिमका कक्षाहरू सञ्चालन गरेको उहाँले बताउनुभयो । विभिन्न साझेदारहरूसँगको सहकार्यमा भाषा तथा सीप विकासका कक्षाहरू सञ्चालन गरिएको जनाउँदै नगर प्रमुख आचार्यले जापान नेपाली श्रमिक तथा विद्यार्थीहरूका लागि समेत आकर्षक गन्तव्य बनिरहेको उहाँले बताउनुभयो । जापानी टोलीले जापानमा केयर गिभरका लागि श्रमिकहरू अभाव रहको जनाउँदै सीपयुक्त जनशक्ति भए आफूहरू त्यसमा आवश्यक प्रक्रिया अगाडी बढाउन तयार रहेको जनाएको छ । जापानमा जेयष्ठ नागरिकहरूको हेरचाह केन्द्र सञ्चालन गरिरहेका उनीहरूले नेपाली श्रमिकहरूको आतिथ्ययताले निकै प्रभावित भएको भन्दै त्यसमा आफूहरू थप श्रमिकहरू लैजान इच्छुक रहेको बताएको छ।
टोलीमा जापानका चार जना सांसदहरू सहित १६ जनाको सहभागिता रहेको थियो । सो क्रममा दुईपक्षिय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।





