
काठमाण्डौं २७, कार्तिक,
गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलाउन हुनु भएको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ पर्नु भएको सांसद मनाङे आज (मंगलबार) काठमाण्ठौंको डिल्लीबजार कारागार चलान हुनु भएको हो ।
उहाँलाई प्रहरीले मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ गरेको थियो ।मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उहाँलाई केन्द्रीय कारागार पठाएको प्रहरीले जनाएको छ ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उहाँलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नु पर्ने भएको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
हक्की स्वभावका मनाङे गण्डकी प्रदेशमा सबै भन्दा धेरै पटक मन्त्री हुनु भएको थियो ।






