
दीननाथ बराल,
पोखरा २३, कार्तिक,
पोखरामा यस बर्षको छठ पर्व फेवाताल, नारायणथान, रिठ्ठाघाट र कमलपोखरीमा धुमधामका साथ मनाइएको छ । पोखरा लेकसाइड स्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरी(भन्द्रकालि मन्दिर भन्दा तलको परिसर) मा छठ पुजा धुमधामका साथ मनाइएको हो ।

बिषेश गरी तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्धेश्यले यस बर्ष पोखराका ४ ठाँउमा हर्ष र उल्लाहासका साथ छठ पर्व मनाइएको नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । विहिबार अस्ताउदो सुर्यलाइृ अर्घ दिएका सुर्यका भक्तहरुले आज (बिहान) उदाउदो सुर्यलाई अर्घ दिनु भएको हो । पोखरामा आज भन्दा करिब २५ बर्ष अघि सुरु भएको पोखरा नदीपुरको नारायणथान मन्दिर परिसरबाट बिस्तार हुदै ४ ठाँउसम्म व्यबस्थित र झकिझकाउका साथ छठ पर्व हर्स र उल्लाहासका साथ मनाइएको विभिन्न छठ पूजा समितिले जनाएका छन्।

कार्तिक २२ गते अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म पूजा भएको थियो भने २३ गते बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा भएको थियो । तराई मधेष क्षेत्रका समुदायले मनाउने छठ पर्व पोखरामा विभिन्न स्थानमा धुमधामका साथ मनाउन थाले पछि अधिकांश छठका भक्तहरुले पोखरामा मनाउदै आएको एन.बी. व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारले बताउनु भयो ।

सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गर्ने गरेकोे भद्रकालि छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले बताउनु भयो । यस बर्ष कमल पोखरी क्षेत्रमा अघिल्ला बर्षको तुलनामा उल्लेखनिय रुपमा सुर्यका भक्तहरुको सहभागिता रहेको सदस्य महेन्द्रप्रसाद शर्माले जनाउनु भयो ।







