
पोखरा, २२ कात्तिक
पर्यटनको राजधानी पोखरामा यही कात्तिक २४ गते (शनिबार) हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चार वटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल खेलकुद पत्रकार पञ्च, नेपाल खेलकुद परिषद लगायतका विभिन्न संघ, संस्थाहरुसंगको साझेदारी र सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले प्रतियोगिता खेल प्रर्यटनको प्रबद्र्धन सहित नेपाल–भारत सम्बन्धमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । नेपालका लागि चीनिया राजदुतावासका डिसिएम वाङसेनले यस्ता प्रतियोगिताका कारण नेपाल र चीनका जनता जनताबीच सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने बताउनु भयो । पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा हुने यस्ता प्रतियोगिताले सो घोषणालाई व्यवहारिक कार्यान्वयनमा सघाउने बताउनु भयो ।
प्रतियोगिताले नेपाल तथा पोखराको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । यसले नेपाल तथा चाईनाबीचको सम्बन्ध अझ बजबुत र प्रगाढ बन्ने फोरमका अध्यक्ष तथा प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । उनका अनुसार चीनबाट १३० जना खेलाडी सहितको टोली चार्टर बिमानद्वारा बिहिबार पोखरा आईसकेको छ । चिनिया ६४ जना धावकहरु मात्र प्रतियोगितामा सहभागि हुने भएका छन् ।
नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ ।प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्र्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । समूह विजेताले रु चार लाख ५८ हजार, उपविजेताले रु तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार पाउनेछन् । विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले रु ३० हजार पाउँने छ ।
पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ ।
साहसिक खेलकुदको सहर पोखरामा यासहित इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् ।
प्रतियोगिताका क्रममा तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ ।




