पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक बर्ष पछि पुनः चाइनाबाटै चाटर्ड फ्लाइट हुने

-


     पोखरा क्लिक     
     कार्तिक २१ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २१, कार्तिक,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक बर्ष पछि पुनः चाइनाबाटै चाटर्ड फ्लाइट हुने भएको छ । नेपाल सरकारले करिब २२ अर्बको ऋणमा निर्माण गरेको उक्त विमानस्थल संचालनमा आएको करिब दुई बर्ष पुग्दै गर्दा मुस्किलले ८ वटा मात्र चाटर्ड फ्लाईटमै चिक्त बुझाउनु पर्ने बाध्ययता रहेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ बर्ष हुदै गर्दा नियमित रुपमा अन्तराष्ट्रि हवाई उडान हुन नसके पनि यस बर्षको पहिलो चाटर्ड फ्लाई भने विहिबार हुने भएको छ । यस अघि ७ वटा अन्तराष्ट्रिय हवाई उडानको चाटर्ड फ्लाईट भएको थियो ।

यस बर्षको पहिलो चाटर्ड फ्लाईट चाइनाको कुनमिङ शहरबाट भोलि (विहिबार) सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले बताउनु भयो । उहाँका अनुसार दिउसो २ः४० बजे एयरबस ३१९ नम्बरको विमान पोखरा आएसंगै दिउँसो ४ः१५ बजे रित्तै काठमाण्डौं तर्फ प्रस्थान गर्ने समय तालिका रहेको उहाँले जनाउनु भयो ।

अघिल्लो बर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ वटा चाटर्ड फ्लाईट भएको उपनिर्देशक सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडानको लागि पहल भई रहेको उहाँको भनाई थियो ।

पोखरामा आउँदो शनिबार (कार्तिक २४ गते) हुने तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा सहभागि हुने चाइनाबाट खेलाडी सहितका केही अतिथिहरु समेत उक्त बिमानले ल्याउने भएको प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले बताउनु भयो । यस अघि पनि अघिल्लो बर्षमा उक्त प्रतियोगिताको लागि चाइनाको कुनमिन शहरबाट पोखरामा सिधै हवाई उडान मार्फत खेलाडी सहित अपिसियलहरु पोखरा आउनु भएको थियो । नेपाल चिन मैत्रि संघका अध्यक्ष समेत रहनु भएको संयोजक विश्वशंकर पालिखेले उक्त खेलको माध्यमबाट पोखरा क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो ।

उक्त प्रतियोगितामा विभिन्न इभेण्टमा गरी १ हजार २ सय ६१ जना धावक सहभागि हुने भएका छन्। प्रतियोगितामा विभिन्न इभेण्टको प्रतिष्प्रर्धामा १ सय ३४ जना चाइनिज धावक सहित १ हजार २ सय ६१ जना धावकहरु सहभागि हुने भएको प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिकराज पहारीले बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चाइना र भुटानबाट एउटा गरी हालसम्म ७ वटा चाटर्ड फ्लाईट भएको हो । नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलका लागि गत असार ६ गते ७२ जना चिनियाँ पर्यटक तथा खेलाहरुलाई चार्टर उडानबाट पोखरा ल्याइएको थियो ।

त्यस्तै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ यात्रु लिएर ड्रुक एयरले २०८० भदौं २३ गते पोखरामा दोस्रो चाटर्ड उडान गरेको हो । उक्त विमानले पोखराबाट ४२ जना विदेशी पर्यटकलाई लियर भुटानको थिप्पु प्रस्थान गरेको थियो ।

त्यसै गरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि चिनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत बर्ष २०८० कात्तिक २२ गते एकै दिन दुई विमानले चाटर्ड फ्लाईट गरेका हुन्। चिनले नेपाललाई करिब २८ करोड भन्दा बढीको राहत प्रदान गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलको माध्यमबाट सूरु भएको चाटर्ड २०८० मंसिर ७ गते हिमालयन एयरबाट ७४ जना खेलाडी सहितको १ सय ४ जनाको टिम चाइनाको कुनमिङ शहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको थियो । पोखरामा चाटर्ड सहित नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटन व्यवसायीहरुले माग गर्दै आउनु भएको छ ।