दीननाथ बराल,
पोखरा २१, कार्तिक,
पोखराका ४ वटा ठाँउमा छठ पर्व मनाउन झकिझकाउ पारिएको छ । बिषेश गरी तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्धेश्यले यस बर्ष पोखराका ४ ठाँउमा झकिझकाउ पारिएको विभिन्न छठ पुजा समितिले जनाएको छ ।
पोखरामा पनि तराई मधेषकै झल्को दिने गरी हर्ष र उल्लाहासका साथ यो पर्व मनाउने तयारी गरिएको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले पोखराक्लिकलाई बताउनु भयो । पोखरा लेकसाइड स्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरी(भन्द्रकालि मन्दिर भन्दा तलको परिसर) मा छठ पुजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई सहित झिलिमिलि बक्तिले झकिझकाउ बनाइएको उहाँले जनाउनु भयो । विहिबार भने केराको खम्बा समेत व्यबस्थापन गरिने भएको छ ।
पोखरामा आज भन्दा करिब २५ बर्ष अघि सुरु भएको पोखरा नदीपुरको नारायणथान मन्दिर परिसरबाट आज बिस्तार हुदै ४ ठाँउसम्म व्यबस्थित र झकिझकाउका साथ छठ पर्व मनाउन थालिएको रामजी प्रसाद गुप्ताले बताउनु भयो । छठ पूजा स्थालको मुख्य गेटमा फुलले सजसिजावट सहित झिलिमिलि बक्ति जडान देखि सुर्यका भत्तहरुको लागि बस्नको लागि टेण्टको समेत व्यबस्था गरिएको उहाँले जनाउनु भयो । सुर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पुजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य चार ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापनमा जुटेको हो । यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाउन आन्तरिक तयारी सोमबार देखि रंगरोगन र टेण्ट हाल्ने काम भएको उहाँले जनाउनु भयो ।
नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा हुने पूजालाई व्यवस्थित बनाउन केही दिन देखि केदारेश्वर क्षेत्रमा लागेको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । कार्तिक २२ गते अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र २३ गते बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा हुने उहाँले बताउनु भयो ।
काम बिशेषले तथा पेशा व्यावसायीको कारण तराई मधेष क्षेत्रका समुदायले मनाउने छठ पर्व पोखरामा विभिन्न स्थानमा धुमधामका साथ मनाउन थाले पछि अधिकांश छठका भक्तहरुले पोखरामा मनाउदै आएको एन.बी. व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा व्यबस्थित ढंगले उक्त पर्व मनाउन थालेसंगै आफुहरुलाई यहाँ यो पर्व मनाउन सहज भएको उहाँले जनाउनु भयो ।
स्वामि सदासु गिरीले पन्च तत्वको पूजा भएकोले छठ पूजाको बिषेश महत्व भएको दाबी गर्नु भयो । मनोकाक्षा पूरा हुने यस पर्व तराई मधेशमा यस पूजा बिषेश हुने उहाँले जनाउनु भयो । निलकण्ठ महादेव आश्रम सेवा समिति (नारायणथान) का सचिव एवं पोखरा ३ का वडा सदस्य समेत रहेका सनकमान सिकेले पोखरामा पछिल्लो समयमा यो पर्व तराई मधेश मात्र नभई अन्य समुदायका व्यक्तिहरुले समेत मनाउन थालेको बताउनु भयो ।
यस बर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) विहिबार कार्तिक २२ गते परेको छ । सप्तमी कात्तिक २३ गते शुक्रबार सुर्यका भक्तहरुले उदाउदो सुर्यलाई अर्घ दिने गर्नु हुन्छ । विभिन्न फलफुल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्नुहुन्छ । बजारमा छठ पुजाका सामाग्रिहरु किन्नेहरुको उत्साहजनक रुपमा सहभागिता रहेको एक व्यवसायी रोविन गुप्ताले बताउनु भयो । छठ पुजाको चतुर्थी (मंगलबार) का दिन नुहाउने र चोखो खाने गर्नु भएको सूर्यका भक्तले आज (बुधबार) पञ्चमीमा दिनभर व्रत बस्ने (खड्ना) र राति पुजा गर्ने गर्नु हुन्छ ।
छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गर्ने गर्नु हुन्छ । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गर्ने गरेकोे पण्डित निर्मल पौडेलले बताउनु भयो ।