
पोखरा १९, कार्तिक,
यति वेला किसानहरुलाई वर्ष भरी खाने धान थन्काउन भ्याई नभ्याई हुने समयमा प्रतिकुल मौसम भई आज पोखरा क्षेत्रमा वर्षा हुँदा किसानहरु चिन्तित हुनु भएको छ । पोखराका केही स्थानमा भने हावा हुरीसंगै असिना पानी पर्दा किसानहरु मर्कामा परेको किसानहरुले गुनासो गर्नु भएको छ ।
पोखरा महानगपालिका वडा नम्बर २६ क्षेत्रमा सोमबार दिउँसो हावाहुरीसंगै आएको असिना पानीले थन्काउने वेलाको धानमा क्षती पुगेको सुमन ढुङगानाले बताउनु भयो । पोखरा क्षेत्रमा केही ठाँउमा धान काटेर सुकाएको(निन) रहेको छ भने केही आज भोली धान काट्न मिल्ने गरी पाकेको अबस्थामा रहेको छ ।
तर हावाहुरी सहितका वर्षाका कारण केही ठाँउमा धान ढलेको छ भने केही ठाँउमा निन भिजेको छ । सोमबार बिहान ११ बजे देखि पोखराका ठाँउ ठाँउमा पानी परेको थियो । बेलुकासम्म पानी परेको थियो भने मंगलबार पनि पानी परेमा निन भिजेमा उक्त धान हकुवा हुने केही धान उम्रिन समेत सक्ने भन्दै किसानले चिन्क्ता व्यक्त गर्नु भएको छ ।
बेमौसममा आएको हावा हुरी सहितको असिना पानीले धानबालीमा ठुलो असर परेको पोखरामा महानगरापालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो । यस बर्ष निरन्तर पानी परेकोले धान उत्पादन बृद्धि हुने दाबी गर्नु भएको उहाँले किसानले धान थन्काउने समयमा मौसम प्रतिकुल हुदा यसले किसानलाई असर पर्ने जनाउनु भयो ।






