सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई

-


     पोखरा क्लिक     
     कार्तिक १४ गते २०८१ मा प्रकाशित


अम्बिका–भागवत फाउण्डेशन नेपालद्वारा हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई अर्पण गरिने भएको छ ।

साहित्यकार अम्बिका भण्डारीको संयोजकत्वमा गोमा सोती र खडानन्द पौडेल रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलवार सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

पोखरा बैदाममा जन्मेकी हरिदेवी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका तीसको दशकदेखि अविचलित निष्ठाका साथ एकक्षत्र राज गर्दै आइरहेकी विलक्षण प्रतिभा हुन् । उनका दर्जन साहित्यिक कृति, एक सय बढी लोकदोहारी गीति एल्बम र झण्डै ६ सयको सख्यामा गीत रेकर्ड भएका छन् । दर्जनौं संघसंस्थामा संलग्न कोइराला यसअघि जनस्तरका १६० सम्मान पुरस्कारबाट विभूषित भइसकेकी छन् ।

सेवा नै धर्म भन्ने मूल मर्मका साथ व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गराउँदै समाजमा व्याप्त असमानता, कुरीति र कुसंस्कार न्यूनीकरणमा पहरेदारी गर्दै आएको फाउण्डेशनले सङ्घर्षबाट माथि पुगेका प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्दै आएको अध्यक्ष भागवत नेपालले जानकारी दिए ।

उक्त पुरस्कार यही कार्तिक २४ गतेका दिन संस्थाको अधिवेशन तथा साधारण सभा समारोहका बीच अर्पण गरिने फाउण्डेशनका को–फाउण्डर अम्बिका नेपालले बताइन् ।



This will close in 20 seconds