समसामयिक प्रश्न पत्रको लागि पोखरामा प्रशिक्षण

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८१ मा प्रकाशित


पोखरा १२, कार्तिक

समसामयिक प्रश्न पत्रको लागि पोखरामा प्रशिक्षण जारी रहेको छ । बिद्यार्थीहरुले राम्रोसंग पाठ्यक्रम अध्ययन नगरी छोटो समयमा गेस पेपर घोक्ने र कण्ठ पार्ने परिस्थितीको अन्त्य गरी समसामयिक तथा स्तरिय प्रश्न पत्र जारी गर्न पोखरामा प्रशिक्षक प्रशिक्षण जारी रहेको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रशिक्षकहरूलाई शनिवारदेखि प्रशिक्षण दिन शुरु गरिएको हो । प्रशिक्षणको उद्‌घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विज्ञ व्यक्ति नेतृत्वमा नहुनु र समयानुकुल पाठ्यक्रमहरू परिवर्तन नहुनाले नेपालको शिक्षा प्रणाली स्तरीकृत बन्न नसकेको बताए । नेपाली बिद्यार्थीहरुको सङख्या घट्दो क्रममा रहेको उनले जनाए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले परीक्षालाई स्तरिकृत बनाउनका लागि पाठ्यपुस्तक, गेसपेपर, गाइड लगायतका सामाग्रीहरुबाट नभई पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमबाट प्रश्नपत्र निकाल्ने गरि प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले भने(‘परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको हो ।’ गुणस्तरयुक्त प्रश्नपत्रले विद्यार्थीहरूको नतिजालाई सुधार गर्ने उनको विश्वास छ ।

पाठ्यक्रम अनुसार तयार पारिएका प्रश्नपत्रले विद्यार्थीको ज्ञान, बोध र प्रयोग सबै पक्षलाई समेट्ने उनको भनाई छ । प्रशिक्षणपश्चात अवदेखि शिक्षकहरुले प्रश्नपत्र तयार गर्दा पाठ्यपुस्तकको प्रयोग नगर्ने उनको प्रस्टोक्ति छ । शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले माध्यमिक तहका परीक्षाको नतिजा खस्कदो आएकाले त्यसलाई सुधार गर्न पनि यस प्रकारको तालिमहरू आवश्यक पर्ने बताए । शिक्षा क्षेत्रमा धेरै सुधार गर्न आवश्यक भएको उनले जोड गरे ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीको समन्वय तथा शिक्षा विकास निर्देशनालय गण्डकी, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँगको सहकार्यमा भएको हो ।स्तरीकृत परीक्षाका लागि राष्ट्रिय परिक्षा बोर्डले ७ प्रदेशका ७ सय ५३ वटै स्थानीय तहमा प्रश्न निर्माण सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाएको छ ।“सकारात्मक सोचका साथ रचनात्मक कार्य गरौँ जति सकिन्छ त्यति गरौँ, केही न केही अवश्य गरौँ” भन्ने मूल नारासहित आयोजित प्रशिक्षण ५ दिनसम्म जारी रहनेछ ।