सरकारी कार्यालय खुल्ने हुदा अघिल्लो दिन (आजै) बाट पोखरामा चहल पहल बढ्यो

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, असोज,

दशैं पर्व पछि सरकारी कार्यालय खुल्ने हुँदा अघिल्लो दिन (आजै) बाट पोखरामा चहल पहल बढेको छ । भोलि (मंगलबार) देखि सरकारी कार्यालयहरु खुल्ने हुँदा तथा केही निजी संघ संस्थाहरु समेत संचालन हुने हुँदा अघिल्लै दिन देखि पोखरामा चहल पहल बढेको व्यवसायीहरुले बताउनु भयो ।

नेपालीहरुको महान पर्व वडा दशैं टिकाको आज तेश्रो दिनमा विभिन्न पेशा तथा व्यवसाय एवं काम बिषेशले पोखरालाई कर्मथलो बनाएकाहरु पोखरा फर्किन लागेकोले पोखरामा चहल पहल बढेको हो । पोखराको अति नै व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पालिखेचोक, पृथ्बीचोक, न्यूरोड, पार्दी बिरौटा, बगर लगायतको क्षेत्रमा चहल पहल बढेको स्थानियले बताउनु भयो ।

नेपालीहरुको बडा दशैं टिकाको दिन असोज २६ गते भए पनि असोज २६ गते देखि पोखरामा फाट्य फुट्य यात्रुहरु फर्किन थालेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । त्यसै गरी पोखरा देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत आजबाटै नियमित रुपमा संचालनमा आएका छन्। दशैंको अवसरमा प्रायः दशैं टिकाको अघिल्लो दिन देखि भोलि पल्टसम्म फ्रि क्यूमा यातायात सेवा संचालन भए पनि आजबाट पनि अधिकांश रुटमा नियमित यातायात सेवा संचालन भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले पोखराक्लिकलाई बताउनु भयो ।

दशैंका अवसरमा पोखराबाट करिब ६० हजार यात्रु बाहिरिए पनि हाल यात्रुहरु पोखरामा भित्रिने क्रम जारी रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी नायव निरिक्षक भिम खत्रीले बताउनु भयो । दशैंको अवसरमा पोखरा क्षेत्रमा ट्राफिक व्यबस्थापन सामान्य अबस्थामै रहेको उहाँले जनाउनु भयो ।

दशैं टिका पछि पोखरा क्षेत्रमा मानिसहरुको चहल पहल बढे पनि आर्थिक कृयाकलाप भने कम नै भएको पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्यले बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यस बर्षको दशैं पर्वको अवसरमा साना देखि मध्यम हुदै ठुला व्यवसायीको करिब ३० प्रतिशत पनि व्यवसाय नभएको उहाँले जनाउनु भयो ।