
दीननाथ बराल
पोखरा २८, असोज
पर्यटकीय नगरी पोखरामा पहिलो पटक भित्रिएको स्वीपर मेसिन (बु्रमर) ले अब पोखराको नगर सफा गर्ने भएको छ । पोखरा महानगरले पोखराको सौन्दर्यतालाई संरक्षण गर्दै पोखरामा हुने धुवा तथा धुलोलाई नियन्त्रण गर्न उक्त मेसिन खरिद गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो ।
पोखराको सौन्दर्यतालाई कायम गर्न ४९ हर्ष पावर क्षमताको उक्त मेसिन जडित ब्रुमर रहेको छ भने २.९ मिटरको चौडाइ भएको सो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गर्न सक्ने र सडक सफाइको काम गर्न सक्ने भएको मेयर आचार्यले जनाउनु भयो । उक्त मेसिल ३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको महानगरले जनाएको छ ।
पोखरा महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको सफाइका लागि मनिटौ ब्राण्डको नयाँ स्वीपर मेसिन ल्याईएको मेयर आचार्यले बताउनुभयो । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्ने भएको उहाँले जनाउनु भयो ।
उक्त मेसिनबाट नगर सफा गर्ने, सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउने भएको छ । मेसिन केवल स्वीपरको रूपमा मात्र प्रयोग नभई लोडरको रूपमा समेत प्रयोग गर्न सकिने छ । यसले महानगरपालिकाको सफाइ अभियानलाई थप प्रभावकारी तथा दिगो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । हाल महानगरपालिकाले सडक सफाइका लागि ठुलो सङ्ख्यामा सफाइकर्मीहरू समेत परिचालन गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । यसै बिच, उक्त मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले केही दिन अघि शुभारम्भ गर्नुभयो । पोखराको सौन्दर्यताको लागि महानगरले ठाउँ ठाँउमा रुख तथा विरुवा रोप्ने योजना बनाएको छ ।




