दशैं र तिहार पर्व लक्षित गरी पाोखराका होटल आवासमा ३० प्रतिशत छुटको घोषणा

-


     पोखरा क्लिक     
     असाेज २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २३, असोज,

नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने भएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरुमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोध गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुल्ला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गहरुको अवस्था सामान्य रहेकोले दशैं तथा तिहार पर्वको अवसरमा अधिकांश पर्यटकहरुलाई आकर्षण गर्न उक्त छुटको व्यबस्था गरिएको उहाँले जनाउनु भयो ।

देशमा भएको आर्थिक मन्दि सहित पछिल्लो क्रममा भएको बाढी पहिरोले पोखरा क्षेत्रमा खस्केको पर्यटन क्षेत्रलाई आकर्षण गर्न संघमा आबद्ध पर्यटक स्तरिय ५ स्टार होटलसम्म उक्त छुट लागु हुने भएको संघले जनाएको छ । उक्त होटल आवासमा छुट हुने बिषयलाई कार्यान्वयन गर्न अनुगमन समिति समेत गठन भएको महासचिव राजेन्द्र ढकालले जनाउनु भयो । संघमा आबद्ध होटलहरुले ग्राहकलाई स्वतस्फुर्त रुपमा छुटको प्रबन्ध गर्ने भएको संघले जनाएको छ ।

भ्रमण र पदयात्राका लागि पोखरा र सिंगो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यता अमरण विगत केही बर्षदेखि संघले विविध कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको द्धितिय उपाध्यक्ष गणेशराज पहारीले जनाउनु भयो । होटल ंसंघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरेले पोखरा आउने हवाई उडानको शुल्क महङगो भएकोले मुल्य समायोजना गर्न एयरलायन्स कम्पनी तथा सरकारले ध्यान दिन माग गर्नु भयो । विगत समयमा पर्यटन क्षेत्रले लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड १९ को महामारी, हवाई दुर्घटनाको मार र वित्तीय अराजकता जस्ता समस्याबाट गुज्रनु परेको व्यवसायीहरुले गुनासौ गर्दै आउनु भएको छ । केही दिन अघिको बाढी, पहिरो र विपत्तीले घुम्ने क्रम र वातावरणमा केही नकारात्मक भए पनि अहिले अवस्था सामान्य भएको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । हाल पोखरामा होटल अकुपेन्सि करिब ४० प्रतिशत मात्र रहेको अध्यक्ष सुवेदीले जनाउनु भयो । सेप्टेम्बर, अक्टुबर र नोमेम्बर पर्यटनको पिक सिजन मानिने भए पनि हाल पर्यटकको आगमन निकै कम भएको व्यवसायीहरुले बताउनु हुन्छ ।