
पोखरा, ४ असोज
पोखरा वडा नं ४ स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समितिको अध्यक्षमा पुनः प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायण कुमार श्रेष्ठ रहेका छन् । लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयूक्त रुपमा व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए । संस्थापक अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले कलेजले पढाइ सँगै सामाजिक कार्यमा पनि अगाडि बढेकोमा खुशी व्यक्त गर्नु भयो । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक अभ्यासमा पनि जोड दिनु पर्ने कोइरालाले भने । विद्यार्थीहरुलाई हरेक वर्ष सामाजिक कार्य दिवस र प्रेस स्वतन्त्रता दिवसको दिन प्रत्यक्ष सहभागी गराए कार्यक्रम गरिने क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
स्वदेश तथा विदेशमा लामो समय सम्म पत्रकारिता गरिरहेका पत्रकार र कलेजका विद्यार्थीहरुविच अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख श्रेष्ठले भने । कलेजमा अध्ययनरत विद्यार्थीहरुवाट कम्तिमा २० जना विद्यार्थीहरुलाई अनुसन्धान कार्यमा सहभागी गराईने लक्ष्य रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । पोखरामा मिडिया क्षेत्रमा आवद्ध सवैलाई सहभागी गराईने उद्देश्यले वर्षमा एक पल्ट मिडिया सम्मेलन कार्यक्रम गरिने उनले जानकारी दिए । विद्यार्थी र अभिभावकहरुको सवै भन्दा रुचीमा रहेको कार्निभल कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठले वताए । क्याम्पस संचालक समितिका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीको अध्यक्षतामा भएको कार्यममा संचालक समितिका सदस्य एवं मानविकी संकायका संयोजक उपेन्द्र पौडेलले स्वागत र सचालक समितिका सदस्य शोभाकान्त सिग्देलले संचालन गरेका थिए । क्याम्पस प्रमुख तथा सदस्य सचिव नारायण कुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरण वहुमतले पारित भएको छ । सो क्याम्पसमा स्नातक तहमा विविएस र विएमा अग्रेजी, सामाजिक कार्य पत्रकारिता पढाई हुन्छ । हाल क्याम्पस तीन सय भन्दा वढि विद्यार्थीहरु अध्यनरत छन् ।





