ऐतिहासिक पदक दिलाउने पलेशा गोवर्धनलाई नेपालमा भव्य स्वागत

-


     पोखरा क्लिक     
     भाद्र १९ गते २०८१ मा प्रकाशित


पोखरा १९, भदौ,

ऐतिहासिक पदक दिलाउने पलेशा गोवर्धनलाई नेपालमा भव्य स्वागत गरिएको छ । पेरिसस्थित ग्रान्ड प्यालेसमा अगष्ट ३० तारिखमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक प्रतिष्प्रर्धामा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएसंगै आज स्वदेश फर्किनु भएको उहाँलाई विमानस्थलबाटै बाजा गाजा सहित फुलमालाले भव्य स्वागत गरिएको हो ।

पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो पदक भएकोले त्यसको खुसियालीमा खेलाडी सम्मान सहित उहाँलाई नगर परिक्रमा समेत गराइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बताउनु भयो । नेपालले पाराओलम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो । राखेपले पेरिस पारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशालाई बुधबार भब्य स्वागत गरेको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे अवतरण गरेको पलेशासहितको पारा तेक्वान्दो टोलीलाई राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य, नेपाल तेक्वान्दो संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्त, एपीएफको ब्यान्ड टोली, पञ्चे बाजा, शुभचिन्तकलगायतले भब्य स्वागत गर्नु भएको थियो । । त्रिभूवन विमानस्थलमा टोलीलाई स्वागत गर्दा तेक्वान्दो खेलाडीको उल्लेखनिय सहभागिता रहेको थियो । पलेशाले आफैलाई विश्वास गर्नु नै जितको सबै भन्दा ठूलो हतियार भएको बताउदै आफूले आफैलाई विश्वास नगर्ने हो भने कहिले पनि सफलता हात पार्न नसकिने धारणा व्यक्त गर्नु भयो ।