
दीननाथ बराल,
पोखरा १८, भदौ,
राम मन्दिर माछापुच्छ्रे महिला समूह पोखरा १०, १५ को आयोजना महिलाहरुको महान पर्व हरि तालिका तिज पर्वको अवसरमा ३३ औं संस्करणको तिज गित प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा, पोखराको घरना समुह हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा यही भदौ २१ गते उक्त प्रतियोगिता हुने भएको राम मन्दिर माछापुच्छ्रे महिला समुहका अध्यक्ष एवं मुल समारोहका अध्यक्ष माया गुरूङ (भुजेल) ले बताउनु भयो ।

प्रतियोगितामा विजेतालाई नगद २५ हजार, उपविजेतालाई २०, तेश्रो हुनेलाई १५ हजार शान्त्वनालाई ७ हजार पुरस्कार प्रदान गरिने भएको मंगलबार पोखरा रामबजारमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो। उक्त कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च लाग्ने आफुहरुले अनुमान गरेको आयोजक संस्थाका सचिव लेक माया पुनले बताउनु भयो । रामबजारको पहिचान धर्म, संस्कृक्तिको उत्थानका साथ पोखरा महानगरपालिकाको अंति महत्वपूर्ण रमणीय र धार्मिक क्षेत्रले परिचित रामबजारको प्रचार प्रसार गर्न उक्त प्रतियोगिताले थप मद्धत पुग्ने उहाँले दाबी गर्नुभयो ।

२०६४ सालमा राम मन्दिर माछापुच्छ्रे महिला समूहले स्थापनाको पहिलो वर्ष कालिका मा.वि.को प्राङ्गणमा र त्यसपछि विश्वकर्मा मन्दिर, राम मन्दिरको प्राङ्गणमा तीज गीत प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको उहाँले जनाउनु भयो । उक्त तिज गित प्रतियोगिताका परिकल्पनाकार मध्यका एक मनविर गुरूङले आफुहरुले कास्की जिल्लाको मात्र नभई देशमै पहिलो पटक तिज गित प्रतियोगिता संचालन गरेको दाबी गर्नू भयो । प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य हुने एक एक जनालाई जनही २÷२ हजार प्रदान गरिने भएको छ भने सहभागि टिमलाई यातायात खर्च स्वरुप १ हजार उपलब्ध गराइने भएको छ । महिला दिदी बहिनीहरुको अन्तरनिहित क्षमतालाई प्रवर्द्धन गर्न, रामबजारका सम्पूर्ण संघ संस्थाहरु विच भातृत्व जगाई संस्थागत विकास गराउन, सामाजिक विकासमा टेवा पुर्याउन, आर्थिक कोष अभिवृद्धि गर्न लगायतका उद्धेश्य रहेको आयोजकले पोखराक्लिकलाई जनाएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र रामबजारका अध्यक्ष क्या.थमनसिह थापा, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, रामबजार यूके सोसाइटीका पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय खेलाडी रुपक गुरुङ, कार्यक्रम संयोजक रुपा गुरुङ लगायतको उपस्थिती रहेको थियो । रामबजार क्षेत्रका विभिन्न मन्दिरहरुमा पालैपालो तीज गीत प्रतियोगिता आयोजना गर्ने क्रममा यस बर्ष राम मन्दिरको पालो परेको हुनाले राम मन्दिर माछापुच्छ्रे महिला समूहको आयोजनामा राम मन्दिर सञ्चालक समितिको सहयोगमा राम मन्दिर कै प्राङ्गणमा सो प्रतियोगिता हुने भएको हो ।



