
दीननाथ बराल,
पोखरा १६, भदौं,
गण्डकी प्रदेशमा संचालन भएको व्यवसायीक जीवन रक्षा कर्जा कार्यक्रम चालु आर्थिक बर्षको मंसिरबाट सकिने भएको छ । प्रदेश सरकारले प्रदेशमा १ अर्ब ८१ करोड ३० लाख कर्जा प्रवाह भएको छ । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रम २०७७÷०७८ बाट चैत मसान्तरसम्ममा उक्त रकम बराबरको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ ।
प्रदेशका १ हजार ६ सय ३८ वटा व्यवसायी (ऋणी) मध्य हालसम्म २ सय ५१ वटा व्यवसायीहरुले कर्जा चुक्ता गरेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक विना ढकाल पौडेलले पोखराक्लिकलाई बताउनु भयो । प्रदेशका १ हजार ३ सय ८६ व्यवसायीबाट ३१ करोड ८८ लाख बक्यौता रकम उठ्न बाँकी रहेको उहाँले जनाउनु भयो ।
४ बर्गमा वितरण गरिएको उक्त कर्जा मध्य सबैभन्दा बढी अंश (४४.०३ प्रतिशत) साना पर्यटन व्यवसाय र सबै भन्दा कम कर्जा (५.१५ प्रतिशत) साना यातायात व्यवसाय क्षेत्र तर्फ रहेको थियो । गत चैत्र मसान्तरसम्म १ अर्व ४९ करोड बराबरको साँवा रकम चुक्ता भएको कार्यालयले जनाएको छ ।
प्रवाह भएको कुल कर्जा लगानी रकमका आधारमा कास्की जिल्लामा सबैभन्दा बढी अर्थात ४४.५० प्रतिशत र तनहुँ जिल्लामा १०.७० प्रतिशत लगानी रहेको छ भने अन्य जिल्लाहरुमा १० प्रतिशत भन्दा कम लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । कर्जा योजना शुरु भए देखि आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रमासिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ करोड ४१ लाख ५४ हजार ४ सय ५१ रुपैया व्याज सोधभर्ना प्रदान गरिएको निर्देशक पौडेलले उल्लेख गर्नु भयो । उक्त कोषबाट ३ देखि ५ बर्षको लागि ५० हजारदेखि १५ लाखसम्म निब्र्याजी कर्जा प्रवाह भएको थियो । उक्त परियोजना १५ वटा बाणिज्य बैंक तथा ४ वटा बिकास बैंकले कार्यान्यन गरेका हुन् ।