गण्डकी प्रदेशमा एमालेलाई ४ सहित ९ मन्त्रालय हुने

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १६, भदौ,

गण्डकी प्रदेशमा नेकपा एमालेलाई ४ सहित ९ वटा मन्त्रालय बनाइने भएको छ । गण्डकी प्रदेशको आइतबार (आज) बसेको क्याविनेट बैठकले प्रदेशमा हाल कायम रहेको ७ मन्त्रालयबाट थप २ मन्त्रालय बढाई ९ मन्त्रालय पुर्याउने निर्णय गरेको हो । नेपाली कागेंसको भागमा ५ मन्त्रालय परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । मन्त्रालय ७ वटा भए पनि संरचना भने ९ मन्त्रालयमा मन्त्री बाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्यहभार नहुने उहाँको जिकिर छ ।

वन वातावरण तथा उद्योग पर्यटन एउटा भए ता पनि उद्योग पर्यटनको संगठन छुट्टै वन वातावरणको संरचना छुट्टै कार्यालय र सचिवहरु नै छुट्टै रहेको उहाँले उल्लेख गर्नुृ भयो । त्यसै गरी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री एक जना हुनु हुन्थो तर मन्त्रालय र सचिव छुट्टै भएकोले सामाजिक बिकास सम्बन्धि र स्वास्थ्य सम्बन्धि छुट्टै मन्त्रालय बनाउने भएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । संघियता माथि प्रश्न उठेका वेला किन मन्त्रालय फेरी बढाउनु भएको भन्ने पत्रकारको प्रश्नमा उनले समय र परिस्थितीले गर्दा मन्त्रालय बढाउनु परेको जसमा एमालेसंगको सहकार्यमा मन्त्रालय बढाएको उहाँको भनाई थियो ।

अन्य प्रदेश भन्दा गण्डकी प्रदेशमा फरक भएकोले एमालेको सहमतिमा नयाँ सरकार बनाउन केही समय ढिलाई भएको उहाँले जनाउनु भयो । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएको करिब २ महिना भन्दा बढी समय वित्दा पनि गण्डकी प्रदेशमा भने नयाँ गठबन्धनको सरकार बन्न सकेको छैन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काग्रेंस र प्रतिपक्षमा रहेको नेकपा एमाले विचमा सहमती जुट्न नसक्दा नयाँ सरकार गठन हुन ढिलाई भएको हो । एमालेका संसदीय दलका नेता पोखरा बाहिर भएकोले पोखरा आउना साथ मन्त्रालय सहित मन्त्रीहरु नियुक्त गर्ने योजना रहेको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो । हाल कायम रहनु भएको मन्त्रीहरुलाई भने नहटाउने उहाँले बताउनु भयो ।

कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको छ । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनः गठन गर्ने उहाँको योजना रहेको छ । कागेंसकै भागबाट दुई जनालाई मन्त्री मण्डलमा समेटिने भएको हो । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव एवं पर्यटन मन्त्री पृथ्बीसुब्बा गुरुङले आफु लक्षित गाली गर्नु उपयुक्त नभएको मुख्यमन्त्री पाण्डेले गुनासो गर्नुभयो ।

गण्डकी प्रदेश अन्य प्रदेश भन्दा भिन्न प्रकारको भएकोले यहाँ नयाँ गठबन्धन सहितको सरकार गठनमा केही प्राविधिक समस्या भएकोले गर्दा सरकार गठनमा ढिलाई भएको उहाँले जनाउनु भयो । मन्त्री गुरुङले प्रदेशका मुख्यमन्त्रीलाई अराजनीतिक व्यवहार गर्ने गरेको आरोप समेत लगाउनु भएको थियो ।