दीननाथ बराल,
पोखरा १५, भदौं,
ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । टान गण्डकीको आज (शनिबार) पोखरामा सम्पन्न भएको ३१ औं बार्षिक साधारण सभा एवं १८ ओै अधिवेशनले आगामी २ बर्षीय कार्यकालको लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएका हुन् । यस अघि आचार्य संस्थाको प्रथम उपाध्यक्षमा रहेको टानले पोखराक्लिकलाई जनाएको छ । निवर्तमान अध्यक्षमा धर्मराज पन्थी रहेका छन्।
त्यसै गरी टान गण्डकीको प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्धितिय उपाध्यक्षमा मोहन प्रसाद सुवेदी, सचिवमा गोपाल कृष्ण संग्रहौला, सहसचिवमा भुपेन्द्र कुमार लामा, कोषाध्यक्ष केशव प्रसाद सापकोटा, सदस्यहरुमा प्रकाश पौडेल, माधव प्रसाद खनाल, रेनुका कार्की, चन्द्र बहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन भएका हुन् ।
यसैबिच, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उक्त कार्यक्रमको उद्घाटन गर्दै नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उनले जनाए । ‘‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी पनि हो । पोखरा पदयात्राको मूलद्वारका रुपमा लिइन्छ । नेपालको पर्यटन उद्योगको थालनी पर्वतारोहण र पदयात्राबाटै भएको हो ।’ उनले भने – ‘यस प्रदेशमा दर्जनौं विश्वपरिचित पदमार्ग छन् । प्रख्यात अन्नपूर्ण पदमार्ग, मनासलु ट्रेक लगायतका पदमार्गहरु हाम्रा सम्पति हुन् । जसलाई हामीले जोगाउनुपर्दछ ।’
उनले पथ प्रदर्शकले पर्यटकहरूलाई गन्तव्यमा पुर्याई प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानहरुको अवलोकन गराउन महत्वपूर्णं भूमिका खेलेको बताउँदै देशलाई विश्वमाझ चिनाउन नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोगीका रुपमा रहेको बताए ।
माछापुच्छ्रे मोडल ट्रेक, मिलिनियम ट्रेक, धौलागिरी आइसफल ट्रेक, हिडनलेक ट्रेक, कपुचे लेक ट्रेकसहित दर्जनभन्दा बढी पदयात्रा मार्गहरुको खोज तथा प्रवर्द्धन कार्य भएको जानकारी लिन पाउँदा खुशी लागेको बताउँदै उनले यसरी नै पदयात्रा क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउँदै आइपरेका चुनौतीहरुलाई सामना गरेर सरोकारवाला पक्ष अगाडि बढ्नुपर्ने उल्लेख गरे। पदयात्राको विकासले घरबास कार्यक्रमलाई सकारात्मक सहयोग पुगेको पनि उनको भनाई छ ।
‘पदयात्राका सहयोगीहरुले हाम्रो संस्कार र चालचलनको प्रतिनिधित्व गर्दछन् । विश्वमाझ हाम्रो चिनारी पर्यटकहरुलाई गरिने व्यवहारबाट प्रतिविम्वित हुन्छन् ।’ प्रदेश प्रमुख भट्टले भने – ‘त्यसैले, पथप्रदर्शकहरुले हाम्रो परिचय दिने हुँदा उहाँहरु सभ्य, सुसंस्कृत हुन जरुरी छ । र, टानले पथ प्रदर्शकहरुलाई आवश्यक तालिम तथा दक्षता अभिवृद्धिका लागि सक्रियता देखाउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु।’
टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सांसद दामोदर पौडेल(बैरागी), टानका केन्द्रिय अध्यक्ष निलहरि बास्तोला, गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पूर्व अध्यक्ष डम्बर बहादुर केसी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, संस्थाका सचिव तिर्थराज सुवेदी लगायतले पोखराको पर्यंटकको बसाई अवधि लम्बाउन पदमार्गहरुको प्रबद्र्धन सहित संरक्षण गर्न जोड दिए ।