निजी क्षेत्रको पीर मर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार मन्त्री थापा

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८१ मा प्रकाशित


पोखरा १५, भदौं,

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

“ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

“उद्योग व्यवसाय सरकारले संचालन गर्ने होइन । यसमा नीजि क्षेत्रकै लगानी हुनुपर्छ । व्यवसायीहरुलाई अनुकुल वातावरण बनाउने काम सरकारको हो । जसमा हामी सचेत छौं ।”, उनले भने । मन्त्री थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न प्रदेश सरकारले ताकेता गरिरहेको र छलफलका कार्यक्रम समेत अगाडि बढेको जानकारी गराए । पोखरेली सबैको साझा प्रयासबाट अन्तर्राष्ट्रिय विमानस्थल भित्रेसँगै अब उडान समेत सबैको साझा प्रयासबाट नै हुने भनाई उनको छ ।

भारतीय पर्यटक र चिनिया पर्यटकलाई आर्कषित गर्दै उनीहरुबाट लाभ लिन सक्ने खालको पूर्वाधार निर्माणमा सरकार लागिरहेको उनले बताए । पोखरा बसपार्क निर्माणमा केही समस्या देखिएता पनि त्यसको समाधान गर्ने बाटोमा तीनै तहको सरकार अग्रसर रहेको उनको भनाई छ । पोखरामा बन्ने कोसेली घर अन्तर्राष्ट्रिय स्वरुपको बन्नुपर्ने र प्रदेश भित्र उत्पादन हुने वस्तुको बजारीकरणमा र प्रदर्शनमा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पैसा लगानी गरेर मात्र व्यवसाय प्रवद्र्धन नहुने सरकारले नै चासो दिनुपर्ने उल्लेख गरेका छन् । साना तथा मझौला होटल व्यवसायीको हितबमोजिम प्रदेश सरकारले नीति निर्माणमा ध्यान दिनुपर्ने भनाई उनको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्रहरी व्यवसायीसँग मिलेर नै काम गर्न इच्छुक रहेको उल्लेख गरे । उनले व्यवसायीले पनि प्रहरीलाई सहयोग पुग्ने हेतुले काम गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष ओमराज बास्तोला र पोखरा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष एवम् अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बोलेका थिए ।