
दीननाथ बराल,
पोखरा ११, भदौ,
कानूनले बन्देज गरेको क्यासिनोमा विभिन्न तलबिजले नेपालीहरु नै खेल्न पुग्दा हाल पोखरामा केही व्यक्तिहरु विचल्लीमा परेका छन्। नेपाली बाहेक विदेशीहरुको लागि मनोरन्जन तथा एक प्रकारको जुवा रहेको क्यासिनोमा २÷४ जना मात्र होइन पोखराको एक क्यासिनोमा २५÷३० जना भन्दा बढी नेपालीहरु नै जाने गरेको श्रोतको दाबी छ ।

पोखरा ६, लेकसाइडमा रहेको ताज क्यासिनोमा नेपालीहरु खेलेर लाखौं हारे पछि हाल उनीहरु विचल्लीमा परेको आफ्नो साथेभाईसंग मात्र गुनासो गरेका छन्। पोखरामा करिब एक बर्ष अघि देखि संचालनमा आएको एक मात्र उक्त क्यासिनोमा पोखरा र लेखनाथ देखि कास्कीका छिमेकी जिल्ला तनहुँ, स्याङजा लगायतका जिल्लाबाट समेत क्यासिनो खेल्न जाने नयाँ धनाड्य एउटा बर्गको राम्रै बाहुल्यता रहेको श्रोतले पोखराक्लिकलाई जनाएको छ । पोखरा क्षेत्रका नयाँ धनाड्य र उनीहरुको संगतले गर्दा मध्यम बर्गका केही युवा समेत जुवाको लतमा लागेर लाखौं हारे पछि हाल उनीहरुको घर झई झगडा समेत हुन थालेको बताइन्छ । उक्त क्यासिनोमा २०÷२५ लाख देखि २ करोडसम्म हारेको श्रोतको दाबी छ ।
नेपालीलाई क्यासिनोमा बन्देज मात्र गरेको हुदैन त्यहाँ नेपाली रुपैया समेत नचल्ने चार स्टारको होटलमा संचालन हुने क्यासिनोले अनिवार्य रुपमा मेसिने खुलाउनु पर्ने यदि कसैले उजुरी गर्दा वा प्रहरीले चाहेमा ६ महिना सम्मको आगन्तुक पर्यटकहरुको सीसी क्यामराको फुटेज सहितको अभिलेक दिनुपर्ने कानूनि प्राबधान रहेको छ । क्यासिनो संचालन गर्दा धेरै कानून पालना गर्नुपर्नेमा पोखरामा हाल संचालनमा आएको उक्त ताज क्यासिनोले धेरै कुरा पालना नगरेको र त्यसको पर्यटन विभागबाट राम्रोसंग र समय समयमा अनुगमन तथा नियमन गर्न नसक्दा यसले आम पोखरेली सहित नेपालीलाई कुलतमा फसाउदै लगेको स्थानियले गुनासो गर्न थाले ।
नाम नबताउने सर्तमा एक जना युवाले हामसिंग गुनासो गर्दै भने “पोखरामा क्यासिनोमा यत्रो समस्या भएको छ खै यहाँ तपाईहरुको ध्यान पुगेको हरेक दिनजसो नेपालीहरु लाखौं क्यासिनोको जुवा खेलेर हार्दै आएका छन अब यसलाई रोक्नु पर्यो । ” करिब एक बर्ष अघि संचालनमा आएको उक्त क्यासिनोमा विगत केही महिना देखि नेपालीहरु खेल्ने गरेको स्थानियले बताए ।
यस बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसको अनुमति र नियमन पर्यटन मन्त्रालयको भएकोले आफुहरुसंग यसको सम्पूर्ण समेन्त्र समेत नभएकोले अनुगमन गरेर पनि सबैं कानूनी बिषयमा हेर्न कठिन हुने गरेको बताए । स्थानियको जनगुनासो र समय समयमा आफुहरुले सामान्य रुपमा क्यासिनोमा नेपाली प्रबेश गरेको छ वा छैन त्यो हेर्दै आएको तर हालसम्म नेपाली प्रबेश गरेको भने अनुगमनका क्रममा नभेटिएको उनले जनाए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले यस बिषयमा केही महिना देखि आफुहरुलाई पनि स्थानियले गोप्य सूचना दियको आधारमा क्यासिनोमा अनुगमनमा जादा नेपाली नभेटिएको जनाए ।
केही नेपाली क्यासिनोमा जुवा खेलेर हारेको जनगुनासो आएको तर त्यसको कुनै प्रमाण नभएकोले गर्दा आफुहरुले कार्वाही गर्न कठिन भएको उनले पोखराक्लिकलाई बताए । केही नेपालीले भारतीय कार्ड बनाई भारतीय नागरिक भन्दै नेपालीहरु क्यासिनोमा जुवा खेल्ने गरेका छन् भने नेपाली नागरिकता त्याग गरी विदेशी नागरिककता लिएकाहरु समेत त्यहाँ जाने गरेका छन्। प्रहरी प्रशासनको कमजोरीका कारण पोखरामा कानूनले बन्देज गरेको क्यासिनोमा स्थानिय खुलेहाम गएर लाखौं हार्ने घटना दोहोरीएको छ नी भन्ने प्रश्नमा एसपी थापाले आफुहरुलाई उजुरी गरेका वेला देखि आफुहरुले नियमति रुपमा अनुगमन गर्दा समेत हालसम्म एक जना पनि नेपाली नभेटिएको दाबी गरे । क्यासिनो प्रबेश गर्नुसाथ परिचयपत्रको स्क्यान गरी अभिलेखिकरण गर्ने गरिन्छ तर क्यासिनोको पछाडि पट्रिको ढोकाबाट प्रबेश गराई नेपालीहरुको उक्त अभिलेख समेन नराख्ने गरेको श्रोतको दाबी छ । कास्की प्रहरीले कहिले आफै तर कहिले वडा प्रहरी कार्यालय बैदामले समेत अनुगमन गर्दै आएको एसपी थापाले जनाए । उक्त क्यासिनोले प्रहरी प्रशासनलाई केही रकम दियर त्यसको आडमा नेपालीलाई खेलाएको भन्ने गुनासो छ भन्ने प्रश्नमा एसपी थापाले प्रमाण भए कार्वाही गर्ने बताए । प्रहरीको नाममा बदनाम गर्नेलाई आफुहरुले ढिलो चाढो कार्वाही गर्ने उनले जनाए ।
क्यासिनो ताजका पर्चेज म्यानेजर किरण गुरुङले आफुहरुले नेपाली मुलका तर विभिन्न देशको नागरिकता लिएकाहरुलाई पर्यटकहरु सरहको मान्यताका आधारमा प्रबेश दिएको र खेल्न आउने गरेको बताए । हाल उक्त क्यासिनोमा ८० प्रतिशत भारतिय र २० प्रतिशतमा भारतिय देखि तेश्रो मुलुकका पर्यटकहरु रहेको पर्चेज म्यानेजर गुरुङले जनाए । हाल आफुहरुले १६ वटा मेसिनबाट खेलाउदै आएको बताउदै उनले क्यासिनो ताजमा हाल १ सय २० जना कर्मचारी आबद्ध भएको बताए । नेपाली भाषा राम्रोसंग वोल्ने तर विदेश नागरिकता लिएकाहरुलाई आफुहरुले पर्यटककै रुपमा मान्यता दिएकोले कहिले काहिँ त्यस्ता व्यक्तिहरु क्यासिनोमा आउने गरेको उनीले बताए। उक्त क्यासिनो दैनिक दुई सिफ्टमा संचालन हुदै आएको छ भने हाल अफ्सिजनमा पनि दैनिक करिब ७५ जना आउने गरेका छन्।
पर्यटकीय नगरी पोखरामा करिब १० बर्ष पछि पुनः गत बर्ष देखि नयाँ क्यासिनो संचालनमा आएको हो । पोखरामा केही बर्ष अघि पाँच तारे होटल फूलबारी रिसोर्ट र होटल ग्राण्डमा सञ्चालन आएको क्यासिनो विगत केही बर्ष देखि सञ्चालन हुन नसकेको अवस्थामा गत बर्ष भदौं २९ गते देखि पोखरामा माउन्ट कैलाश रिसोर्टबाट उक्त क्यासिनो सञ्चालन भएको छ । ताज इन्टरटेनमेन्ट प्रालिले उद्योग विभागमा दर्ता गरी पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त भएसँगै उक्त क्यासिनो संचालन भएको हो । उक्त क्यासिनो सञ्चालनको लागि २० करोड भन्दा बढी लगानी भएको प्रा.लि.को दाबी छ । चार चारे होटलको रुपमा रहेको माउण्ट कैलाशमा मिनि क्यासिनोको रुपमा सञ्चालन भएको हो । पोखरा ६ मा रहेको हेरिटेज होटल एण्ड स्पाःमा सञ्चालन हुने गरि भेन्टनम इन्टरनेशन प्रा.लि. र पोखरा लेकसाइडमै रहेको होटल सरोवरमा प्लेजर नेपाल प्रा.लि.ले उद्योग विभागबाट क्यासिनो सञ्चालनको अनुमति दिएका छन् ।
पोखरामा क्यासिनो खेल्ने वातावरण भएमा भारत र चाइनाका पर्यटकको पोखरामा बसाई लम्बाउन मद्दत पुग्ने पोखराका पर्यटन व्यवसायीहरुले बताउदै आएका छन भने पछिल्लो समयमा नेपालीहरु नै क्यासिनो छिरेर लाखौं हार्न थाले पछि यसको राम्रोसंग नियमन गर्न माग समेत गरेका हुन् । पोखराका पर्यटन व्यवसायीहरु संग समेत नेपालीहरु क्यासिनोमा हारेको कुरा एक कान दुई कान मैदान जस्तै भएको छ । तर क्यासिनोलाई कसले र कसरी नियमन गर्ने यसमा बढो चिन्त्ताको बिषय भएको व्यवसायीको भनाई छ । उक्त क्यासिनोमा ८ वटा मेसिन भए पनि कहिले काहि मानिसले समेत खेलाउने र एकै वेट(खाल) मा ४ लाखसम्मको हुने गरेको श्रोतले दाबी गरेको छ ।