
दीननाथ बराल,
पोखरा १०, भदौ,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहिद परिवारलाई राष्ट्रिय शहिदकै दर्जामा सम्मान गरिने भएको बताउनु भएको छ । पोखराको वरपिपल रिसोर्टमा आइतबार देखि संचालन भएको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सके लगत्तै सोमबार शहिद तथा वेपत्ता परिवारजनसंग संक्षिप्त भेटघाट कार्यक्रमममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

शहिद परिवार, वेपत्ता भएका परिवारलाई सम्मान गर्ने परिपुरक दिने विभिन्न स्थानमा पार्कहरु बनायर उहाँहरुको सम्मान गर्ने सबै प्रकारको ढोका खुलेको अध्यक्ष प्रचण्डको भनाई थियो । धेरै मेहनतका साथ उक्त उपलब्धि हासिल गर्न सफल भएको उहाँले जनाउनु भयो ।

उहाँले भन्नुभयो“हाम्रा शहिदहरुलाई राष्ट्रिय शहिद नभएर तनाव भएको थियो, अरु सबै शहिद हुने जनयुद्धका शहिद राष्ट्रिय शहिद नहुने तपाँई हामी सबैलाई टेन्सन थियो, त्यो पनि यस पटक सरकारले सबैलाई राष्ट्रिय शहिद मात्र घोषणा नगरी राजपत्रमा प्रकाशित गर्यो र अब हाम्रा सबै शहिद राष्ट्रिय शहिदको दर्जामा जानु भयो ।” वेपक्ता योद्धाको बारेमा पनि खोजी गर्ने नभेटिएमा परिपुरण पाउने अध्यक्ष प्रचण्डले जनाउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सोमबार सम्पन्न भएको माओबादी केन्द्रका केन्द्रिय सदस्य दीपक कोइराला (रुपक) ले बताउनु भयो । उक्त बैठकमा पार्टी अध्यक्ष, पाटीका पदाधिकारी सहित गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ(कुसुम) ले बताउनु भयो ।

बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष द्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मा लगायत पार्टीका पदाधिकारीको उपस्थिति रहेको थियो ।



