
पोखरा ६, भदौं,
पोखरामा बुधबार समाधान दैनिक पत्रिका चलाएको बिरोधमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पोखराबाट नियमति प्रकाशन हुँदै आएको समाधान दैनिकमा छापिएको समाचारलाई लिएर पोखराको सूर्यदर्शन सहकारी पीडितहरुको नाममा पत्रिका जलाइएको घटनाका विषयमा नेपाल पत्रकार महासंघ कास्की देखि गण्डकी प्रदेश समितिले आपत्ति जनाउदै गम्भिर ध्यनाकर्षण भएको जनाएको छ ।

यस घटनाको घोर भत्सना गर्दै पत्रिका जलाउने र सर्वजनिक रुपमा पत्रकार माथि धम्किपूर्ण लाल्छना लगाउने व्यक्तिको पहिचान गरी यथाशीघ्र कानूनी दायरामा ल्याउन महासंघले जोडदार माग गरेको छ । जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेको पत्रिकालाई जलाइनु र पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीको नाम किटान गर्दै धम्किपूर्ण अभिव्यक्ति दिनु संविधान बिपरित र प्रेस एवं अभिव्यक्ति स्वतन्त्रामाथिकै आक्रमणको रुपमा महासंघले लिएको छ ।

यस बिषयमा प्रदेशका महासचिब गोविन्द सुबेदी र कास्की शाखाका सचिब माधब बरालले छुटाछुटै विज्ञप्ती प्रकाशन गरी बिरोध जनाउनु भएको हो। साथै, समाचारको विषयमा चित्त नबुझे सूचना विभाग, प्रेस काउन्सिल र अदालतसम्म जाने विकल्प हुँदा हुँदै पछिल्ला दिनमा सार्वजनिक स्थलमा पत्रकार माथि भएको सांघातिक आक्रमण, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट पत्रकार कुट्नुपर्ने धम्की र पत्रिका नै जलाउने जस्ता घटनाले समग्र श्रमजिवी पत्रकार र सञ्चारगृह समेत असुरक्षित भएको महसुस् भएको जनाएको छ । सहकारीका पिडितहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पत्रिकाले संरक्षण गरेको आरोप लगाउदै पोखरामा समाधान पत्रिका जलाउदै नारा बाजी गरेका थिए ।




