पाल्पाको लाखे नृत्य अवलोकन गर्दै हजारौं पोखरेली सहभागि (डिभियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १, भदौं,

पाल्पाको लाखे नृत्य अवलोकन गर्दै शनिबार हजारौं पोखरेलीले साथ दिएका छन्। पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रर्दशन गरिएकोले हजारौं पोखरेलीले साथ दिएको आयोजक सटिजन फर्निचरका संचालक दीपक कार्कीले पोखराक्लिकलाई बताए ।

न्यूरोडस्थित सिटिजन फर्निचर परिसरको सडकमा बेलुका ८ः०० बजे देखि राति १०ः३० बजेसम्म उक्त नाच प्रर्दशनी गराइएको उनले जनाए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजा सहित टोलीले साथ दिएको थियो । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्ष समेत सिटिजन फर्निचरको आँगनमा भैरव नाच देखाइएको थियो । आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा पोखरा र पाल्पाबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले पोखरामा नाच ल्याईएको संचालक कार्कीको भनाई छ ।

पोखरा झैं पाल्पामा नेवार समुदायको वस्ती बाक्लो छ । त्यहाँ यो नाचको ऐतिहासिक महत्व छ । पाल्पाली राजा मणिमुकुन्द सेन राजा भएको बेला आफ्नो राज्य बिस्तार क्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिसँग अति प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन ल्याएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आए । ५ सय वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा बाजाको ताल, नाच्ने कला अन्य ठाउँको भन्दा भिन्न छ ।

भिडियो सामाग्रि ।

भीमसेन गुठी भैरवस्थानले यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच देखाइसकिएको छ । पोखरामा नाच देखाउन पाल्पाली समाज पोखरा, पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारीका संस्था लि., पाल्पा कोलोनी लगायतले पनि सहकार्य गरेको पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । उनले पाल्पा र पोखराबीच विभिन्न समुदायका कला, सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै जाने र दुई शहरलाई कला संस्कृतिसँग जोडेर पर्यटन प्रवद्र्धन गर्दै जाने पाल्पालीहरुको उद्देश्य रहेको बताए ।

यसबाट पाल्पा र पोखरा बीच संस्कृति आदान प्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास लिइएको पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले बताए श्रावण घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमंगलदेखि विशेष पूजा आराधनाका साथ सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म देखाउने प्रचलन छ । सहभागिहरुलाई पाल्पाको पहिचान चुकौंनी सहित प्रसाद समेत वितरण गरिएको थियो । उक्त कार्यक्रमलाई मौसमले समेत साथ दिएको थियो, कार्यक्रम सुरु हुँदा सिमसिम पानी परे पनि कार्यक्रम सकिना साथ पुनः सिमसिम पानी परेको थियो ।