पोखरा, साउन २६,
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्य रहेको निश्कर्ष सुनाउनु भएको छ । पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रवार निरीक्षण गरेपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
उहाँले टेलिकमको सेवालाई समय सापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने भन्दे आफ्नो ध्यान सक्षम नेतृत्व र चुस्त व्यवस्थापनतर्फ रहेको बताउनु भयो । अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ मन्त्री गुरुङले बताउनु भयो । टेलिकमको तीन, चार वर्षअघि ६० अर्ब आम्दानी हुने गरेकामा अहिले कसरी ३० अर्बमा झर्यो यस बिषयमा अब समीक्षा गर्ने बेला आएको उहाँको् भनाई थियो ।
उहाँले एक वर्षभित्रमा टेलिकम लगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको जानकारीसमेत दिनुभयो । नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्ने बेला मन्त्री गुरुङले सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको मार्गचित्र बनाइएको प्रष्ट पार्नुभएको हो ।
मन्त्री गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो । मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिएको उल्लेख गर्नु भयो । संचारसंग सम्बिन्धत धेरै उैन कानूनहरु परिमार्जन गर्न आवश्यक भएको उहाँको भनाई थियो ।