
पोखरा २१, साउन
पोखरा–८, सृजनाचोक, शान्तिमार्गमा रहेको सृजना आवासीय माध्यमिक विद्यालयले हालै नव आगन्तुक विद्यार्थीहरूलाई सांस्कृतिक कार्यक्रम सहित स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई. उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरी विद्यार्थी स्वागत गरेको बिद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले विद्यार्थीले आफ्नो सही गन्तव्य पहिचान गरेर त्यसैतर्फ मन, वचन र कर्मले लाग्नुपर्ने सुझाव दिनुभयो । साथै आफ्नो लक्ष्यमा अविचलित भई अनुशासित एवम् लगनशील भई आफ्नो पढाइलाई अगाडि बढाउन आग्रह गर्दै उहाँले विद्यार्थी सृजनशील हुनुपर्छ, सृजनशील तथा लगनशील विद्यार्थी नै देशका भविष्य हुन् भन्ने कुरामा जोड दिनुभयो ।

पहिलो नेपाली तारा २००५ का विजेता राष्ट्रिय गायक, पोख्रेली कलाकार धमेन्द्र सेवान विशेष अतिथिका रूपमा रहदै कार्यक्रममा आफ्नो प्रस्तुतीले थप मनोरन्जन दिनु भएको थियो । विद्यालयको पूर्व विद्यार्थी गण्डकी मेडिकल कलेजकी डा. स्मीता सुवेदीले विद्यालयमा अध्ययन गर्दाका अनुभवहरू सुनाउँदै विद्यार्थीले कहिल्यै अरुको लहैलहैमा नलागी अग्रजहरूको सुझावलाई आत्मसाथ गर्दै पढाइमा दत्तचित्त हुन विद्यार्थीहरुलाई सुझाव दिनु भयो । आफ्नो लक्ष्यसम्म पुग्नका लागि विद्यार्थीसँग दृढ इच्छाशक्ति, धैर्य, साहस र लगन अपरिहार्य हुने उहाँको भनाई थियो ।

विद्यालयका प्राचार्य डोलराज पाण्डेले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयले आधुनिक प्रविधियुक्त, गुणस्तरीय एवम् संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको दाबमी गर्नु भयो । आगामी दिनहरूमा पनि यस्तै शिक्षा प्रदान गर्न हरदम तत्पर रहने वचन दिदै उहाँले विद्यार्थीहरुका लागि विद्यालयले दैनिक शैक्षिक कार्यक्रमहरू सहित अन्य नियमित गतिविधिहरू सञ्चालन गरिने जानकारी गराउनु भयो । विद्यार्थीले समयको महत्वलाई बुझेर पढाइमा मिहिनेत गरेमा त्यसको परिणाम उत्कृष्ट आउने प्राचार्य पाण्डेको दाबी थियो । सृजनाले हरेक वर्ष विभिन्न क्षेत्रमा सृजनशील, योग्य अनि दक्ष जनशक्ति उत्पादन गरिरहेको स्मरण गराउँदै विद्यार्थीलाई सृजनशील बन्न उहाँले आग्रह गर्नु भयोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा कक्षा १२ व्यवस्थापनकी छात्रा अङ्किता पोखेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कक्षा १२ विज्ञान समूहका छात्र दर्शन अधिकारी, नव आगन्तुक विद्यार्थीका तर्फबार युजिन घले, आदित्य सिवाकोटी र आयुष खड्काले लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा साथै चर्चित नृत्य कलाकार विपसा चदराले प्रस्तुत गरेको सुन्दर नृत्यले थप आकषर्ण गरेको थियो । कक्षा १२ विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूले विभिन्न गीत सङ्गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । साथै विद्यालयमा गत वर्षदेखि सञ्चालनमा आएको माइ सेकेण्ड टिचरको टिमले आफ्नो प्रस्तुति राख्नु भएको थियो । यसै कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका विद्यालयका पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको थियो । साथै विद्यालयबाट एस.ई.ई. २०८० मा ४ जी.पी.ए हासिल गरी कक्षा ११ विज्ञान समूहमा भर्ना भएका आयुष खड़का र मिस एस.ई.ई. पोखरा–२०८० को विजेता, यसै विद्यालयकी छात्रा युजिन घलेलाई सम्मान गरेको थियो ।