
दीननाथ बराल,
पोखरा २१, साउन,
यातायात व्यबस्था कार्यालय सवारी कास्कीले गत बर्ष १ अर्ब ४२ करोड ३० लाख ४० हजार ६ सय २४ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा कार्यालयले चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धी दस्तुर, प्रशासनिक दण्ड, जरिवाना र जफत एवं सवारी साधन कर लगायतका शिर्षकबाट उक्त राजश्व संकलन गर्न सफल भएको कार्यालयका निमिक्त कार्यालय प्रमुख अशोक गौतमले बताए ।

सवारी साधन कर वापत १ अर्ब २६ करोड ४८ लाख ८ हजार ४ सय ९३ रुपैया राजश्व संकलन गर्न सफल भएको उनले पोखराक्लिकलाई जनाए । त्यसै गरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ करोड १३ लाख ६१ हजार ९ सय ५७ रुपैया राजश्व संकलन भएको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धी दस्तुरबाट गत बर्ष ९ करोड ९६ लाख ४७ हजार ३ सय ८३ रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७९÷०८० मा भन्दा गत बर्ष कार्यालयले ११ करोड ५३ लाख बढी राजश्व संकलन गर्न सफल भएको हो । आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले १ अर्ब २९ करोड ५५ लाख ६० हजार ८ सय ९४ रुपैया राजश्व संकलन गर्न सफल भएको थियो ।

कार्यालयको गत बर्ष ८०.६६ प्रतिशत प्रगती हासिल गर्न सफल भएको सूचना अधिकारी राजेन्द्र आचार्यले जनाए । कार्यालयमा हालसम्म ३ लाख १८ हजार ३ सय ७२ वटा सवारी साधनहरु दर्ता भएको कार्यालयले जनाएको छ । दुई पाङग्रे सवारी साधन मोटरसाइकल तथा स्कुट भने यसमा सबै भन्दा धेरै दर्ता भएको देखिन्छ । कास्कीमा २ लाख ४९ हजार ४ सय ३८ वटा मोटरसाइकल तथा स्कुटर हालसम्म कास्कीमा दर्ता भएका छन्।

कार्यालयमा गत बर्षमा मात्र १० हजार १ सय ११ वटा सवारी साधनहरु दर्ता भएका छन्। सबै भन्दा धेरै दुई पाङग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर ८ हजार ६ सय २० वटा दर्ता भएको निमिक्त प्रमुख गौतमले उल्लेख गरे । गत बर्ष देखि कार्यालयले कास्कीमा तीन पाङग्रे सवारी साधन(टेम्पो) लाई समेत निश्चित मापदण्डका आधारमा अनुमति दिन थालेको छ । अघिल्लो बर्ष ४६ वटा टेम्पो कास्कीमा दर्ता भएकोमा गत बर्षमा भने एउटा मात्र टेम्पो दर्ता भएको निमिक्त प्रमुख गौतमले जनाए । कास्कीमा ठुला तथा हेभि गाडी अन्र्तगत क्रेन,डोजर, एक्साभेटर तथा ट्रक गरी हालसम्म ७ हजार ८९ वटा दर्ता भएका छन् । गत बर्ष भने कास्कीमा १ सय ४४ वटा उक्त सवारी साधनहरु दर्ता भएका थिए ।
