१ सय भन्दा कम बिद्यार्थी भएका १७ हजार बिद्यालय मध्य आधारभूत बिद्यालयलाई मर्जमा लैजानु पर्छः मन्त्री भट्टराई

-


     पोखरा क्लिक     
     श्रावण २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २०, साउन,

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालको शिक्षाको गुणस्तरको लागि आधारभूत तहबाटै शिक्षामा सुधार गर्नुपर्ने बताउनु भयो । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले एसईईको राम्रो नतिजा ल्याउन कक्षा १ देखि ५ सम्म आधारभूत तहमा राम्रो गर्न सके एसईईमा त्यसको परिणाम राम्रो हुने बताउनु भएको हो ।

सरकारले बिद्यालय शिक्षा ऐन ल्याउने तयारी गरेको बताउदै उहाँले अबको शिक्षा व्यवहारिक र सिपमुलक हुने जनाउनु भयो । शिक्षामा धेरै योजना नभएको कारण शिक्षा क्षेत्रमा धेरै समस्या भएको दाबी गर्दै मन्त्री भट्टराईले संसदीय समितिहरुमा छलफलमा रहेका ऐनहरुलाई छिटो भन्दा छिटो सक्नको लागि सहजीकरण गर्दै अघि बढाएको जनाउदै बिद्यालय शिक्षा ऐन ल्याउने गृहकार्य भएको उल्लेख गर्नु भयो । एकिकृत शिक्षा ऐन आवश्यक भएको दाबी गर्दै मन्त्री भट्टराईले अब आफुहरुको पहिलो काम ऐन निर्माण गर्नुपर्छ भनेर त्यसमा आफु केन्द्रित भएको जनाउनु भयो । १ सय ५२ भन्दा बढी संसोधनको प्रस्ताव आएको मन्त्री भट्टराईले जनाउनु भयो । दफावर छलफल गरेर उक्त ऐनहरु ल्याउने अन्तिम चरणमा रहेको उहाँले बताउनु भयो ।

मन्त्रालयमा अझै ऐनहरु विचाराधिन अबस्थामा रहेकोले उच्च शिक्षा, विश्व बिद्यालय लगायतका बिषयमा भने समस्या रहेकोले त्यसलाई निराकरण गर्दै जाने मन्त्री भट्टराईले जनाउनु भयो । बिद्यालयमा खाजा वितरण कार्यक्रम थप प्रभावकारी र गुणस्तरिय खाजा वितरणको लागि स्थानिय स्तरमा उत्पादन हुने खाद्य बस्तुलाई पहिलो प्रथामिकता दिन उहाँको सुझाव थियो । ५ जिल्लामा २० र त्यस बाहेक अन्य ठाँउमा खाजा प्रति व्यक्ति १५ रुप्रैया कायम गरिएको छ । अघिल्ला सरकारले ल्याएका राम्रो कामलाई आत्मसाथ गर्दै अघि बढाउने जनाउदै मन्त्री भट्टराईले आफु विधि, कानून अनुसार अघि बढ्ने यदि चुकेर काम गर्न बाध्य पारे राजीनामा समेत दिने चेतावनी दिनु भयो ।

ठूला दुई दल मिलेर सरकार बन्दा पनि देशमा आर्थिक विकास र समृद्धि तथा देशमा स्थिरता दिनसक्नु पर्ने यसमा अब ढिला गर्ने छुट कसैलाई नभएको उहाँको भनाई थियो ।

१ सय भन्दा कम बिद्यार्थी भएका १७ हजार बिद्यालय मध्य आधारभूत बिद्यालय (कक्षा १ देखि ५ सम्मका) लाई मर्जमा लैजानुपर्ने उहाँले बताउनु भयो । सरकारी बिद्यालयमा सरकारको ध्यान जानुपर्ने तर जिजी क्षेत्रको शिक्षामा केही कुरा सुधार गरी त्यसको राज्यले नियम भने गर्नुपर्ने मन्त्री भट्टराईले जनाउनु भयो । देशमा भएका नमुना बिद्यालय र राम्रो गरेका बिद्यालयको उचित प्रचार प्रसारमा उच्च शिक्षा हासिल गर्न धेरै युवा विदेशीने देशमा नकरात्मक कुरा भाष्य खडा गरिएको उहाँको भनाई थियो । सिटिइभिटिलाई समेत अब पुनः संरचना गरी नयाँ पाठ्यक्रमहरु थप गर्नुपर्ने अबस्था रहेको मन्त्री भट्टराईले जनाउनु भयो ।