
दीननाथ बराल,
पोखरा १८, साउन,
पोखरामा स्कुल बस दुर्घटना परी मृत्यु हुनु भएको आमा र छोराको शव ५ दिन पछि मात्र आफन्तले बुझ्नु भएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलकी कर्मचारी ३३ बर्षकी आरती बि.क.(आमा) र उहाँका छोरा ६ बर्षका प्रिन्स बि.क.को पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट बस पल्टदा मृत्यु भएकोमा आज ५ दिन पछि सहमती भए पश्चात उहाँका आफन्तले शव बुझ्न्ु भएको हो ।
आमा र छोराको पोखराको तुल्सीघाटमा शुक्रबार अन्तिम दाहसंस्कार समेत गरिएको छ । उहाँको परिवारलाई बिद्यालय सहित पोखरा २१ ले समेत आवश्यक सहयोग गर्ने भएको पोखरा २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले बताउनु भयो ।
बिद्यालयले उक्त परिवारलाई बिमाको रकम ५÷५ लाख गरी १० लाख, कृयाखर्च १ लाख र थप ७ ७ लाख रुपैया दिने अर्को छोरालाई बिद्यालयमा निःशुल्क पढाउने र उहाँका श्रीमानलाई समेत रोजगार दिने सहमति भएको श्रोतले जनाएको छ । त्यसै गरी उहाँको परिवार गरिब परिवारको भएको हुदा एनप्याव्सन कास्कीले समेत थप ३ लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।
साउन १४ गते मट्टिखान नजिक गिङ्कुको भिरबाट पल्टना पुग्दा बिद्यालयकी कर्मचारी पोखरा २१ रामदीकी ३३ बर्षकी आरती विक र उहाँको ६ बर्षको छोरा प्रिन्स बि.क.को उपचारकै क्रममा मृत्यु भएको थियो । उहाँहरुको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । बस चालक पोखरा १७ का ५५ बर्षका टेक बहादुर भुजेल सहित उक्त दुर्घटनामा परी २८ जना घाइते हुनु भएकोमा हालसम्म १७ जनाको डिस्चार्ज भएको छ भने ११ जनाको अझै उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ग १ क ६२१९ नम्बरको बस पल्टन साथ उनीहरुको प्रहरी र स्थानियको सहायताबाट घाइतेहरुको उद्धार गरिएको थियो ।
उक्त बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानविन समिति गठन गरेको छ । महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत राम प्रसाद तिवारीलाई तोकिएको छ । समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्या लगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पोखराक्लिकलाई बताउनुभयो ।