
दीननाथ बराल,
पोखरा १३, साउन,
यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ । गण्डकी प्रदेश सरकार र व्यवसायीहरु बिच राइड सेयरिङ एपको बिषयमा १० सदस्य सुझाव सहितको प्रतिवेदन पेश गर्ने समिति गठन गर्ने निर्णय भएसंगै हाल यातायात व्यवसायीको आन्दोलन स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार अहिले देखि सवारी साधन चल्न सुरु भएको छ ।

गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री विन्दुकुमार थापाले राइड सेयरिङ एपको बिषयमा १० सदस्य छानविन समिति गठन निर्णय भएको बताउनु भयो । भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयका उपसचिव प्रदिप कुमार रेग्मीको संयोजकत्वमा व्यवसायी, मजदुर, ट्राफिक प्रहरी सहितका सरोकारवालाहरुको प्रतिनिधित्व गर्दै समिति गठन गरिएको उहाँले उल्लेख गर्नु भयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आइतबार गण्डकी प्रदेश यातायात सेवा बन्द हुँदा यात्रुले सास्ती भाग्नु परेको थियो ।






