समदृष्टि बचत तथा ऋण सहकारीमा पुनः लक्ष्मण

-


     पोखरा क्लिक     
     श्रावण १२ गते २०८१ मा प्रकाशित


दुलेगौंडा, १२ साउन,

पोखरा–२६ स्थित दृष्टिविहिनद्धारा सञ्चालित समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार पोखरा–२६ बुढिबजारमा भएको १३ औं साधारण सभा तथा सातौं अधिवेशनबाट उपाध्यक्षमा दण्डपाणी ढकाल, सचिवमा छविलाल आले, कोषाध्यक्षमा सुशिल गोदार, सहसचिवमा रीता केसी सर्वसम्मत भए । सदस्यहरुमा प्रमोद दाहाल, पुष्पराज रिमाल, सुनिता ज्ञवाली र सुस्मिता थापा रहेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा शिशिर खनाल, सदस्यहरुमा अमृत बराल र सानुमाया पौडेल छन् । निर्वाचन समिति संयोजक लोचना अधिकारीको संयोजकत्व र अधिवक्ता विष्णु खनाल र राजन उपाध्याय सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो ।

सोहि अवसरमा कास्की नेत्रहिन संघको २७ औं वार्षिक साधारण सभा र दृष्टि सम्बन्धि अपाङ्गता भएको व्यक्तिहरुकोलागि वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै एबीलीस फाउण्डेनका नेपाल प्रतिनिधी डा. विरेन्द्रराज पोख्रेलले कास्की नेत्रहिन हरेक गतिविधिमा अगाडी रहेको बताउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा लैजान आफ्नो सहयोग रहने उल्लेख गरे । पोखरा–१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले समदृष्टि सहकारीको कार्यालय सञ्चालनकालागि ल्यापटप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रिय महासचिव शिशिर खनाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रवक्ता रमेश पोख्रेल, कर अधिकृत विजय लामिछाने, आइएनएफ पोखराका दिपक न्यौपाने, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका सचिव कृष्ण अधिकारी, डिडा नेपालका गिरीधारी सुवेदी, पोखरा महानगर स्तरीय अपाङ्ग सञ्जालका अध्यक्ष गंगा बहादुर खड्का, समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण सुवेदी, पूर्व अध्यक्ष शोभा पौडेल लगायतले बोलेका थिए ।

आइएनएफ पोखराको आर्थिक सहयोगमा भएको वित्तिय साक्षरता कार्यक्रममा कर अधिकृत विजय लामिछानेले सहजिकरण गरेका थिए । २ सय ४६ शेयर सदस्य रहेको सो सहकारीमा करिव ६७ लाख रुपैया शेयर पुँजी छ ।