
पोखरामा सम्पन्न एक साहित्यिक कार्यक्रमका वक्ताले वर्तमान नेपाली वाङ्मय क्षेत्र सत्ता र स्वेच्छिक दासताको चेपुवामा परेको बताएका छन् ।
प्रतिष्ठानद्वारा आयोजित रजत वर्ष २०८० विशेष अन्तरक्रिया,२६ औं स्थापना दिवस, स्रष्टा सम्मान तथा २५० औं शुभप्रभात काव्यमाला समारोहका वक्ताले उक्त धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वर्तमानमा राज्यसंस्थाबाट नै नेपाली भाषा माथि अन्याय भएकोमा चिन्ता व्यक्त गरे । उनले थपे– एकातर्फ राज्यको दासता छ, अर्कोतर्फ हाम्रा छोराछोरीलाई बाबाआमा होइन, ममी ड्याडी संस्कार सिकाउँदा गर्व गर्दछौं । अतिथि श्रेष्ठले हाम्रो मौलिक संस्कार, संस्कृति र परम्परा नै लोप भयो भने हाम्रो अस्तित्व नै संकटमा पर्ने धारणा राख्दै प्रश्न गरे- ‘हाम्रो भाषा सकियो भने हामीले साहित्य कुन भाषामा लेख्ने ?’
श्रेष्ठले प्रतिष्ठानले विशिष्ट कार्यक्रमका साथ रजत वर्ष मनाएकोमा आफूलाई हर्षानुभूति भएको र रजतजयन्ती सम्मानप्रति आभार व्यक्त गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव अध्यक्ष असफल गौतमले राज्यको धन खर्च गर्नेले आफ्ना अनुकूलका कार्यक्रम गर्दै आएको अवस्थामा संस्थाले वार्षिक कार्यपात्रोसहित कार्यक्रम गरेर राज्यलाई पाठ सिकाएको बताए । उनले प्रतिष्ठान आफू पानीमा रुझेर पनि वाङ्मयसेवीलाई ओत दिन अग्रसर रहेकाले यसको उचित संरक्षण तथा व्यवस्थापनमा हेमजावासी र जनप्रतिनिधिको ध्यान जानुपर्ने धारणा राखे ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सदस्य छन्दिका त्रिपाठीले प्रतिष्ठानका आगामी गतिविधिको थप प्रगतिको कामनासहित रजत जयन्ती विशेष सम्मानले आफ्नो सिर्जनायात्रामा थप उत्साह र प्रेरणा मिलेको बताइन् ।
पोखरा–२५ का संस्थापक वडा अध्यक्ष शोभाकर तिम्सिनाले प्रतिष्ठानलाई वर्तमान अवस्थासम्म ल्याउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउनेहरूप्रति आभार व्यक्त गरे ।
पोखरा–२५ वडा सदस्य तथा सामाजिक अभियन्ता कृष्णबहादुर कुँवरले प्रतिष्ठानका कार्यक्रमलाई चुस्त बनाउन र समय व्यवस्थापनमा ख्याल पु¥याउनुपर्नेमा जोड दिए । वडाका सन्दर्भमा कुँवरले जनप्रतिनिधिले भरपुर विवेक पु¥याएर काम गरेको र त्यसको नतिजाका लागि आफ्नो पूरा कार्यकालसम्म धैर्य गर्नसमेत अनुरोध गरे ।
कवि शिव त्रिपाठीले आफूले वाङ्मयका क्षेत्रमा उल्लेख्य योगदान दिए भन्ने नलागे तापनि प्रतिष्ठानको सम्मानले थप जिम्मेवारी बोध गराएको धारणा राखे ।
प्रतिष्ठानले सोही समारोहबीच भाषा, कला, सहित्य, संस्कृति, समाजसेवा र सञ्चारका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई रजतजयन्ती सम्मानसमेत अर्पण गरेको छ । यसरी सम्मानित हुनेमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, सम्मरबहादुर गायक, साहित्यकार असफल गौतम, छन्दिका त्रिपाठी, शिव त्रिपाठी, देवि त्रिपाठी, सञ्चारकर्मी निराजन अधिकारी, श्रीभद्र पौडेल, सामाजिक अभियन्ता कुष्णबहादुर कुँवर रहेका छन् ।
यसैगरी प्रतिष्ठानले डा.पुष्पा के.सी भण्डारी र वसन्तराज बास्तोलालाई संस्थाको संरक्षक सदस्यता प्रदान गरेको छ भने राष्ट्रिय युवा परिषद्को आयोजना र मिसन सञ्चार मल्टिमिडिया गु्रप प्रा.लि को सह–आयोजनामा सम्पन्न राष्ट्रिय युवा गायन प्रतियोगितामा छैटौं स्थानमा पुग्न सफल प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकलाई बधाईसहित विशेष सम्मान गरेको छ ।
प्रतिष्ठानका सचिव परशुराम अधिकारीले रजतवर्ष विशेष प्रगति प्रस्तुत गर्दै यो वर्ष प्रतिष्ठानले फरक–फरक प्रकृतिका २५ विशेषसहित ४० कार्यक्रम सम्पन्न गरेको जानकारी दिए ।
सो अवसरमा गीताञ्जली साहित्य परिवारका सचिव नरेन्द्र रानाभाट, सहित्यकार चन्द्रावती वाग्ले, वसन्तप्रसाद चालिसे, गन्धर्व सारङ्गी पाठशालाका भाइबहिनीले आफ्ना प्रस्तुति राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकले प्रतिष्ठानका हरेक गतिविधिमा सक्रिय सहभागी हुने सम्पूर्णप्रति आभारसहित स्वागत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले रजतवर्षलाई अगाडि बढाउन र सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै साथ सहयोगको अपेक्षा गरे ।



