प्रतिभा माविमा स्वागतःडाःथापाको सुझावः पढाईमा कहिल्यै हिम्मत नहार्नु

-


     पोखरा क्लिक     
     श्रावण ८ गते २०८१ मा प्रकाशित


पोखरा, साउन ८,


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनैपनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन् । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले मंगलबार कक्षा ११ का विज्ञान विषयका नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले भने, ‘पढाईमा कहिल्यै हिम्मत हार्नुहुँदैन । कुनैपनि विषय अध्ययन गर्दा हिम्मत नहारौं, अनेक चुनौती आउँछन, तर, हिम्मत हारेमा पढाई पुरा हुँदैन ।’ आफ्नो उद्देश्य प्राप्तिको लागि ध्यान दिनुपर्ने पनि उनले बताए ।

‘आफ्नो उद्देश्य कहिल्यै नर्बिसनु,’ विद्यार्थीलाई सुझाउँदै उनले भने, ‘उद्देश्य मात्र भुल्ने होइन की समाजलाई पनि भुल्नु हुँदैन ।’ आफुले निकै नै अप्ठेराका बाबजुत चिकित्सा शिक्षा अध्ययन गरेको अनुभव सुनाउँदै डा. थापाले भने, ‘मैले निकै नै दुखका साथ मेडिकल शिक्षा पढेको हुँ । मैले अध्ययनसँगै समाजको पनि सेवा गरेको हुँ । आफ्नै जिल्लाका बिरामी परीक्षण गर्न लामो समय बिताए ।’ उनले विद्यार्थीलाई सुझाउँदै सामाजिक काममा लाग्न पनि अनुरोध गरे । डा. थापाका अनुसार तनहुँको शुक्लागण्डकीमा सामुदायिक अस्पताल खोल्न आफुले पहल गरेका थिए । ‘अहिले त्यो अस्पताल विशेष सुविधासहितको बनेको छ । कुनैबेला सामुदायिक अस्पताल बनाएका थियौं,’ उनले भने ।

विद्यालयका प्राचार्य किरण सापकोटाले हरेक विद्यार्थीमा एउटा न एउटा क्षमता हुने बताए । प्राचार्य सापकोटाले विद्यार्थीलाई सुझाउँदै भने, ‘सपना सगरमाथाको टुप्पोमा पुग्ने देख्नुस । तपाईं आधारशिविरसम्म त पक्कै पुग्न सक्नुहुन्छ । सगरमाथाको टुप्पोमा पुग्न नसक्दैमा आँट गर्न नछोड्नुस ।’ प्राचार्य सापकोटाले अबका दुइवर्ष जिवनका लागि अमुल्य हुने बताउँदै भने, ‘अबको दुइवर्षको दुखले जीवन सुख हुनेछ । त्यसैले ब्यक्तिबाट ब्यक्तित्व बन्ने प्रयास गर्नुपर्छ ।’ सापकोटाले जर्बदस्त दुइवर्ष मेहनत गरेर सपनालाई पछ्याउन पनि विद्यार्थीलाई सुझाए । विद्यार्थी समीर सुवेदीले उदेश्य र लगनशीलताले सफलता हात पर्ने बताए ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’मनोपरामर्शदाता तथा उत्प्रेरक डा. ताराजीले जिवनको लक्ष्य पहिचान गरेर अघि बढ्न नवआगन्तुक विद्यार्थीलाई सुुझाए । अरुको लहैलहैमा नलाग्न उनको अनुरोध थियो ।

कार्यक्रममा गायिका अस्मिता अधिकारीले विद्यार्थीका लागि गीत पस्केकी थिईन । अधिकारीले गीत गाउँदा पोखरा सभागृहहल गुञ्जायमान बनेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले पनि गीतसंगीत र नृत्य पस्केका थिए । प्रतिभा माविले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि कार्यक्रम राखेको हो ।



This will close in 20 seconds