
पोखरा १, साउन,
पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं।२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु।६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो ।

प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उहाँले बताउनुभयो ।
कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उहाँले बताउनुभयो । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उहाँले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताउनुभयो । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं।२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताउनुभयो । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई पेसा प्रति आकर्षण बढाउने उहाँले बताउनुभयो ।
यस वर्ष पोखरा महानगरपालिका वडा नं।२६ मा ४३९ रोपनी र वडा नं।२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं।२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।
यसैबिच, पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु।२५ लाख बराबरको अनुदान प्रदान गर्नुभएको हो ।
नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो ।
महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले सुन्तला कृषकहरूलाई महानगरपालिकाले विगत पाँच वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । ताकिएको मापदण्ड अनुसार किसानबाट प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीको स्थलगत अनुगमन पश्चात् योग्य कृषकहरूलाई अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटन लगायत स्थानका दुई सय ८० किसानलाई अनुदान प्रदान गरिएको छ । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १० हजार ६ सय ५२ बोटका लागि अनुदान वितरण गरेको हो ।
अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य राख्न रु।५०, बोडो पेस्ट गरेबापत रु।४०, बोडो मिक्स्चर स्प्रेबापत रु।३० र बोटको वरपर बाक्लो छापो लगाएबापत रु।३० गरी एक सय ५० प्रदान गरिएको हो ।
सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१।०८२ मा महानगरपालिकाले ७ं प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने छ ।