पदयात्रा पथ प्रदर्शकलाई टान गण्डकीको एक दिने पुर्नताजगी तालिम

-


     पोखरा क्लिक     
     असार २८ गते २०८१ मा प्रकाशित


पोखरा, असार २८,

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पथ प्रदर्शकहरुलाई एक दिने पुर्नताजगी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार एक दिने पुर्नताजगी तालिम दिएको हो ।

२० जना महिलासहित कुल ८० जना सहभागी तालिममा पथ प्रदर्शक सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए । पथ प्रदर्शक भएर १५÷२० वर्षदेखि काम गरिरहेकाहरुलाई अहिलेको समयमा अपडेट गराउन तालिम दिइएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । उनका अनुसार तालिममा पर्यटकलाई कसरी प्रभावकारी रुपमा गाईड गर्ने ?, म्याप रिडिङ, जिपीएस ट्रयाकिङ, पर्यटकसँग प्रभावकारी सञ्चार, आपतकालीन समयमा अप्नाउनुपर्ने सावधानी, अवैध क्रियाकलाप गर्ने पर्यटकलाई कसरी सम्झाउने र नमानेमा सुरक्षा निकायलाई दिने जानकारीबारे तालिम दिइएको हो । तालिममा पहारीले उत्प्रेरणात्मक तालिम दिएर उनीहरुलाई काममा थप डेडिकेटेड हुनका लागि आग्रह गरे ।

टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले कोभिडपछि गाउँ फर्केका पथ प्रदर्शकहरु पुनः काममा फर्किन लागेकाले उनीहरुलाई अहिलेको परिस्थितिसँग जुध्न र कुशल पथ प्रदर्शक बनाउनका लागि तालिम दिइएको बताए । उनले भने,‘कोभिडपछि गाउँ फर्केकाहरु बल्ल काममा फर्किन लागेका छन् । त्यसैले उनीहरुमा ग्यापिङ आएको छ । सोहि ग्यापिङ पुरेर कुशल पथ प्रदर्शक बनाउन तालिम प्रभावकारी रह्यो ।’

तालिममा सहभागी पथ प्रदर्शक गणेश दाहालले तालिममा सिकेका कुराले पथ प्रदर्शनका क्रममा उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरुलाई शुक्रबारै प्रमाण पत्रसमेत प्रदान गरिएको छ । गण्डकीमा ट्रेकिङ गाइड गर्ने १७५ कम्पनीमा करीब ३ हजार पथ प्रदर्शक र सहयोगी रहेको सचिव तिर्थराज सुवेदीले बताए ।