
दीननाथ बराल,
पोखरा २१, असार,
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगद २० हजार सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो ।

खेलाडीहरुलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नु भयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको उहाँको भनाई थियो । मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको दाबी गर्नु भयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको उहाँको भनाई छ ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको बताउनु भयो । २१ जना खेलाडीहरुलाई जनही २० हजार नगद सहित सम्मान गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले जनाउनु भयो ।

सम्मानित हुने खेलाडीहरुमा भिमाद नगरपालिका–६, तनहुँकी मोर्डन पेन्टाथलन खेलकी विनिता सार्की, पोखरा ६ का ह्याण्डवल खेलका बिशाल बस्नेत, बागलुङ कालिका–४, बागलुङका जिम्नास्टिक खेलाडी राजेश वास्कोटा, दोलखाको गौरी शंकर गाउँपालिका ७ की हक्कीकी पवित्रा गुरुङ, बगलुङको जैमिनी नगरपालिका ३ का उसुका खेलाडी योगेन्द्र थापा, स्याङजा चापाकोट नगरपालिका ७ की तेक्वान्दो खेलकी रेखमायाँ गुरुङ रहनु भएको छ ।
त्यसै गरी पोखरा २६ का फेन्सिङका संदिप बराल, असुरैना २, रुपन्देहीकी बक्सिङ (प्रशिक्षक) प्रियाङ्का बर्मा, पोखरा १६ का बडीविल्डङ्ग खेलाडी विवेक हमाल, स्याङजा पुतली बजार नगरपालिका ५ का मेन्स स्पोर्टस फिजिकका खेलाडी प्रदिप रेग्मी, पोखरा २० का सुटिङ खेलाडी बिजय कार्की, बेलाहरा ३ घनकुटाकी आर्चरी खेलाडी मोनिका राना मगर, पोखरा १८ की प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, नवलपरासिको देवचुली नगरपालिका १ सेपाक ताक्रो खेलका विजय महता, तनहुँको व्यास नगरपालिका ६ का करातेका मनोज श्रेष्ठ, कास्कीको भदौरे तामागी ९ का आइटिएफ तेक्वान्दोका सुरज सुनार, तनहुँ भिमाद नगरपालिका ९ की ऋषीसरा थापा, पोखरा १६ का खोखो खेलका चित्र बहादुर थापा, हंसपुर ५ कास्की की व्याडमिन्टन खेलाडी पुनम गुरुङ, कास्की घाचोकका कन्ट्याक्ट कराँतेका रुपक नेपाली, स्याङजाकी टेबुल टेनिस खेलाडी मुना थापा सम्मानित हुनु भएको हो । प्रदेशका अन्य उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरु २१ जना भित्र पर्न नसकेकोमा गुनासो गर्दै खेलाडी सम्मानमा पारदर्शी नभएको आरोप लगाएका छन्।