
असार १८ पोखरा,
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो ।

क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरे ।

गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो ।

तस्विर ः सुर्दशन रञ्जित
जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।
स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, प्रतिभा छनौट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रिसीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर , गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरिएको थियो । १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा भएको उदियमान खेलाडी विधाको अवार्ड व्याडमिन्टनकी दिलासा राना, वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी घोषित भएका थिए । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको थियो भने वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो । विभिन्न विधा तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरेका थिए । यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरिएकोे थियो ।
गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहेको थियो भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाएको थियो भने प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको थियो । त्यसै गरी उक्त कार्यक्रमलाई सफल पार्न स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोग रहेको थियो ।