
दीननाथ बराल,
पोखरा १६, असार,
नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः दोश्रो पटक मन्त्री पदमा नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर असार ११ गते संसद पुग्नु भएको देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार (आज) पहिलाकै मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

उहाँले आइतबार सपथ ग्रहण गर्नु भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाहलमा आइतबार प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । गठबन्ध हुँदा माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले उहाँको पद थमौति गरेसंगै उहाँ पुनःवहाली हुनु भएको हो ।

गत जेठ २८ गते माओवादी केन्द्रको निर्णय विपरीत सांसद देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिनु भएको थियो । मुख्यमन्त्रीलाई फ्लोर क्रस गरी मत दिनु भएको उहाँ भोलिपल्ट मन्त्री नियुक्त हुनु भएको थियो । जेठ २९ मा मन्त्री नियुक्त हुनु भयो सोही दिनमा माओबादीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । माओवादी केन्द्रले जेठ ३२ गते प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो ।

आफुलाई पदमुक्त गरेपछि देवकोटाले ६ असारमा अन्तरिम आदेशको माग गदै सर्वोच्चमा निवेदन दत्र्ता गर्नु भएको थियो । अदालतमा परेको निवेदन पछि १० असारमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादीले कारवाही गर्ने अधिकार नभएकाले निवेदनको अन्तिम निर्णय नभएसम्मका लागि गरिएको कारवाही कार्यान्वय नगर्न आन्तरिम आदेश जारी गरेको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित ७ वटा मन्त्रालयहरु रहे पछि हाल ५ वटा मात्र मन्त्रीहरु रहनु भएको छ ।