
दीननाथ बराल ,
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो ।

उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट विनियोजन गरिएको उनले बताए । त्यसै गरी चालु तर्फ ३९.९१ प्रतिशत अर्थात १३ अर्ब १६ करोड ५ लाख ८२ हजार बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३३ अर्ब ८२ करोड विनियोजन गरेको थियो ।

वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत रकम विनियोजित गरिएको बताउदै मन्त्री डा.गुरुङले सो रकम मध्य आगामी आर्थिक वर्ष १ करोड ७६ लाख ११ हजार प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको जनाए । आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने अनुमान गरिएको मन्त्री डा.गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यसरी न्यून हुने रकम मध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको उनले जनाए । नेपालको संविधानको अनुसूची बमोजिम प्रदेशको क्षेत्राधिकारभित्र रही आन्तरिक राजस्वको क्षेत्रमा करका केही दरलाई घटाइ अन्य दरलाई यथावत राखिएको बजेटमा उल्लेख छ ।
भौतिक पूर्वाधार क्षेत्रमा आउदो बर्षको लागि १२ अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ । उर्जा तथा जलश्रोतको क्षेत्रमा भने ४ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । कृषि तथा भूमि व्यावस्थापन गर्न २ अर्ब ९ करोड बजेट विनियोजन गरिएको मन्त्री डा. गुरूङले बताए । सामाजिक बिकास तथा स्वास्थको क्षेत्रमा ५ अर्ब ४७ करोड बिनियोजन गरिएको उनले जनाए ।
लगानी प्रबर्द्धनमा जोड दिदै उत्पादन र उत्पादकत्वमा प्रथामिकता दिएको मन्त्री गुरूङले दाबी गरे । व्यावसाय कृषि र उत्पादन गर्न व्यावसायिक कृषिको बिकास गर्न बजेट व्याबस्थापन गरिएको बजेटमा उल्लेख छ । त्यसै गरी गाँजाखेतीको व्यवसाय प्रबर्द्धन गर्न रकम विनियोजन गरिएको छ । पशु खोपको व्यबस्थापन लागि सबै स्थानीय तहमा उपलब्ध गराउने भएको छ । त्यसै गरि बजेटमा प्रदेशका २९ वटा ओैधोगिक क्षेत्र मध्य ३ वटामा लगानी गर्ने भएको छ । युवा उद्यमी बनाउन सहुलियत दरमा कर्जा उपलब्ध गराउने बजेटमा उल्लेख छ । प्रदेश सभा भवन निमार्णको लागि ९ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशको विपद व्यबस्थापन कोषमा न्यूनतम १० करोड मौज्दात रहने व्यबस्था मिलाएको छ ।
प्रदेशको बजेटले प्रदेश भित्रका पत्रकारलाई प्रोत्साहन स्वरुप पत्रकार क्षमता विकास कार्यक्रम, पत्रकार लेखनबृत्ति फेलोसिप कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरिएको छ । बजेटले बिद्यार्थी, ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुको लागि बस, मिनिबस तथा माइक्रोबसको भाडामा छुट सहुलियत दिए वापत सवारी साधन करमा ६० प्रतिशत छुटको व्यबस्था मिलाएको बजेटमा उल्लेख छ ।
एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्रि स्मार्ट कृषि फार्म संचालन गरिने भएको छ । होमस्टे जाउ स्थानीय कला संस्कृतिमा रमाऔं, राउण्ड फेवा भ्यू फेवा कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरिएको छ भने पदमार्गको संरक्षण पर्यटनको प्रबद्र्धन कार्यक्रम समेत ल्याईएको छ । एक सामुदायिक वन एक पोखरी कार्यक्रम बजेटमा समेटिएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि लक्षित वर्गमा स्वास्थ्य बीमा, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, कडा रोगको उपचारमा आर्थिक सहायता, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको लागि निःशुल्क परीक्षण, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था मिलाएको मन्त्री डा.गुरुङले जनाए । विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ जिल्ला अस्पताललाइ २५ शैश्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शैश्या क्षमतामा स्तरोन्नति गर्न तथा गोरखाको आँपपिपल अस्पताल र बाग्लुङको बुर्तिबाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।
संक्रामक तथा सरुवा रोग अस्पताललाई प्रदेशको विशिष्टीकृत अस्पतालको रुपमा विकास गरिने भएको छ भने प्रदेशस्थित रेफरल अस्पतालमा न्युरो इन्टरभेन्सन रेडियोलोजी सेवा, मातृशिशु मितेरी अस्पतालमा निःसन्तानपनको उपचार सेवा र हिमाली तथा उच्च पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण र प्रविधिसहित उच्च भेगीय विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको उनले जनाए । युवालाई उद्यमशीलता र प्रोत्साहन गर्न सहुलियतदर पूर्ण व्याजदरमा बिउ पंूजि उपलब्ध गराउन, उचाईमा खेलः खेलमा उचाई, युवा प्रतिभा सम्मान यवा उद्यमी प्रोत्साहन गर्न बजेटमा व्यबस्था गरिएको छ ।
प्रदेशबासी नागरिकको बृहत्तर हितलाई केन्द्रबिन्दुमा राखी नेपालको संविधान, नेपाल सरकारको सोहौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य, गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको सोच, प्रदेश सभामा प्रस्तुत गरिएको विनियोजन विधेयकमा समावेश हुने सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई आधारलिई बजेट तर्जुमा गरिएको मन्त्री डा.गुरुङले जनाए ।
“आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशबासी“ को सोचका साथ दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको विकासको मार्गचित्र पुरा गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना, प्रदेशबासी नागरिकको हित अभिवृद्धि तथा प्रदेशको समग्र विकासमा विशेष जोड दिएको उनले जनाए । प्रादेशिक अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिदै सार्वजनिक र निजी क्षेत्रको सहभागिता मार्फत लगानी प्रवर्द्धनमा जोड दिई बजेट तर्जुमा गरिएको बजेटमा उल्लेख छ । समतामूलक आर्थिक समुन्नति र उदार लोकतन्त्रलाई संस्थागत गरी संघीयताको लाभ आम नागरिकमा समन्यायिक तवरले वितरण गर्न तथा लोकतान्त्रिक मुल्य र मान्यताहरु नागरिकको जीवनमा अनुवाद गर्न अन्तरसरकार व्यवस्थापन प्रभावकारी हुन आवश्यक ठानेको मन्त्री डा.गुरुङले जनाए । उक्त बजेटले पृथ्बीजयन्ती मनाउनुका साथै पोखरामा पृथ्बीनारायण शाहको शालिक निर्माण गर्ने उल्लेख गरेको छ ।
बजेटको पूर्णपाठ सहित ।