
दीननाथ बराल,
पोखरा ३०, जेठ,
पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलका संयोजक नै बास्केटवल कोर्टमा मापसे (मादक पदार्थ सेवन) गरेर आए पछि उनी रंशालाबाट बाहिरिएका छन् । बास्केटवल संघका कार्यालय सचिव तथा उक्त बास्केटवल खेल संयोजकको रुपमा रहेका रमेश खड्का (केसी) ले रंगशालाको बास्केटवल कोर्टमा मापसे गरेर आएसंगै उनको मापसे परिक्षण गर्दा प्रमाणित भएसंगै उनी रंगशालाबाट बाहिरिएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरीले उहाँको परिक्षण गर्दा मापसे भएको पुष्टि भएसंगै उनी बास्केटवल कोर्ट सहित रंगशालाबाट बाहिरिएका हुन् । यस अघि संयोजक केसीले पोखरा रंगशालामा रहेको बास्केटवल कोर्टमा बास्केटवल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै विवाद निकाले पछि प्रदेश र संघका प्रतिनिधिहरु बिच केही समय भनाभन सहित विबाद भएको थियो ।

आज बिहान ७ः०० बजे देखि सुरु हुने गरी आन्तरिक तयारी गरे पनि चौतर्फी दबाब पछि बिहान १०ः२५ बजे उक्त खेल सुरु भएको छ । बिहान ७ः०० खेलाडीहरुलाई रंगशालामा वोलाए पनि करिब साँढे ३ घण्टा पछि मात्र खेल सुरु भएको हो । संघको बिबादले गर्दा करिब साँढे ३ घण्टा खेलाडीहरु अलपत्र भएका थिए । आफुहरुले दुई वटा बास्केटवल कोर्ट माग गरे पनि एउटा मात्र कोर्ट भएकोले खेल संचालनमा केही समय ढिला भएको संघका प्रतिनिधिहरुले प्रतिकृया दिएका छन्।
बास्केटवल संघले बास्केटबल संघ गण्डकी प्रदेशलाई मान्यता नदिएको कारण आन्तरिक बिबादले गर्दा उक्त प्रतियोगिता अन्यौलमा भएको थियो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले रंगशाला जस्तो क्षेत्रमा कसैले मापसे गरेर आउन नहुने यदि त्यसको पुष्टि भएको अबस्थामा कार्वाही हुनुपर्ने माग गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले समयमै खेल संचालन गर्न आवश्यक सहजीकरण गर्न खोज्दा संघ केन्द्रको कुनै पनि प्रतिनिधिहरुले समन्वय नगरेको बताए ।
उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि भएको रेफ्रि संयोजक सुनिल लामाले बताए । छात्रा तर्फको पहिलो खेल गण्डकी र कोशी प्रदेश बिच खेल सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा आज र भोलि(विहिबार) हुने उक्त प्रतियोगितामा ६ वटा खेलहरु संचालन हुदैछन् ।
प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको छ । सबै खेलमा छात्रछात्रातर्फको खेल हुनेछ । उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि प्रतिष्पर्धा गर्ने भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) सहभागी पोखरा आइसकेको सदस्य सचिव शर्माले जानकारी दिए । जसमा हरेक प्रदेशबाट ७६ जना खेलाडी, ७ जना प्रशिक्षक र ७ जना टिम म्यानेजर सहभागी छन् ।