यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल अन्यौलमा, खेलाडी अलपत्र

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३०, जेठ,

पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल हाल अन्यौलमा भएको छ । आज बिहान ७ः०० बजे देखि सुरु हुने गरी आन्तरिक तयारी गरे पनि यो सामाचार तयार पार्दा (बिहान ९ः३० बजे) सम्म बास्केटवल खेल कहाँ र लिग वा नकाउट कसरी खेलाउने हालसम्म अन्यौलमा परेको छ ।

बिहान ७ः०० खेलाडीहरुलाई रंगशालामा वोलाए पनि साँढे २ घण्टासम्म खेलाडी त्यसै अलपत्र अबस्थामा रहेका छन भने बास्केटवल खेल कति बजे र कहाँ हुन्छ भन्ने अझै टुंगो लागेको छैन् । बास्केटवल संघले बास्केटबल संघ गण्डकी प्रदेशलाई मान्यता नदिएको कारण आन्तरिक बिबादले गर्दा उक्त प्रतियोगिता अन्यौलमा भएको हो ।

बास्केटवल संघका कार्यालय सचिय तथा उक्त प्रतियोगिताको प्रतिनिधिको रुपमा सहभागि भएका रमेश केसीले बास्केटवल इण्डोर हलमा हुनुपर्ने र न्यूनतम दुई वटा कोर्ट हुनु पर्नेमा रंगशालामा एउटा मात्र कोर्ट भएकोले उक्त खेल समयमै संचालन गर्न नसकिएको बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले समयमै खेल संचालन गर्न आवश्यक सहजीकरण गर्न खोज्दा संघ केन्द्रको कुनै पनि प्रतिनिधिहरुले समन्वय नगरेको बताए । बिहान ७ बजे खेलाडीहरुलाई वोलाय पनि घण्टौंसम्म खेल संचालन नहुदा खेलाडीहरु अलपत्र अबस्थामा रहेको उनले जनाए ।

उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुने गरी तयारी अबस्थामा रहेका छन्।

राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा आज र भोलि(विहिबार) हुने उक्त प्रतियोगितामा ६ वटा खेलहरु संचालन भएका छन्।

प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको छ । सबै खेलमा छात्रछात्रातर्फको खेल हुनेछ । उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि प्रतिष्पर्धा गर्ने भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) सहभागी पोखरा आइसकेको सदस्य सचिव शर्माले जानकारी दिए । जसमा हरेक प्रदेशबाट ७६ जना खेलाडी, ७ जना प्रशिक्षक र ७ जना टिम म्यानेजर सहभागी छन् ।