
दीननाथ बराल,
पोखरा २६, जेठ,
शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान तत्काल संसोधन गर्न माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साल ज्येष्ठ १३ गते जारी गरिएको “शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ र शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याउने प्रयत्नले सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने भन्दै त्यसको संसोधनको माग गरिएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको शुक्रबार र शनिबार पोखरामा सम्पन्न भएको पदाधिकारी बैठकले सामुदायिक विद्यालयहरुको स्वामित्व समुदायमै कायम राख्न माग गरेको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्न गरी उक्त प्रावधान ल्याउन लागेकोले त्यसको तत्काल संसोधन गर्नुपर्ने अन्यथा आफुहरुले शसक्क्त आन्दोलन गर्न बाध्य भएको समितिका अध्यक्ष गुणराज मुक्तानले बताउनु भयो ।
हाल सक्षम शिक्षक रोजेर विद्यालय सञ्चालन गर्ने समुदायको अधिकार कुण्ठित गर्ने देखिएकोले देश भरीका विद्यालय व्यवस्थापन समितिहरुको साझा छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको उहाँले जनाउनु भयो । विद्यालयको आवश्यकता अनुसारको शिक्षकको टिम निर्माण गर्दै गुणस्तर कायम तथा सञ्चालन भएका विद्यालयहरुमा प्रकृयागत रुपमा सरुवा भएको शिक्षकहरुबाट गुणस्तर कायम गर्न बाधा पुग्ने अध्यक्ष मुक्तानले जनाउनु भयो । आफ्ना अभिभावकहरुले शिक्षक छनौट गर्न पाउनु पर्ने महासचिव दुर्गानन्द ठाकुरले बताउनु भयो ।
विद्यालयमा कस्तो शिक्षक आवश्यक पर्ने हो भन्नेबारे आफैले निर्णय गर्न पाउनु पर्ने, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र व्यवस्थापन समिति जस्ता सरोकारवालाहरु संग कुनै समन्वय नगरी मनगणन्ते र मनोमानी ढंगले ल्याइएको निर्देशिका सामुदायिक विद्यालयहरु ध्वस्त पार्ने र गरिव नेपालीका छोराछोरीलाई महङ्गो शुल्क तिरेर पढ्न बाध्य पार्ने भएकोले उक्त मागलाई सम्बोधन नभएमा आम अभिभावकहरुको प्रतिनिधि विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल शसक्त आन्दोलन गर्न बाध्य हुने र आन्दोलनको लागि तयारीमा रहन देशभरीका विद्यालय व्यवस्थापन समितिहरुलाई महासंघले आव्हान समेत गरेको छ ।
यसैबिच, समुदायिक बिद्यालयका प्र.अ. र अध्यक्षहरु बिचको अन्तरकृया तथा उत्प्रेरणा कार्यक्रम समेत सम्पन्न गरिएको कास्की जिल्ला सामुदायिक बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापाले बताउनु भयो । उक्त कार्यक्रमको शनिबार गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्घाटन गर्नु भएको थियो ।





